सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।
हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । त्यसअघि उनले प्रहरीको फोन नम्बर माग्न वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई समेत फोन गरेका थिए ।
दानसिंहले गएराति करिब १ः४० बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
खाटको खुट्टा बनाउन राखिएको काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले बिहान करिब २ः३० बजे प्रहरीलाई खबर गरेपछि अस्थायी प्रहरी बिट करेखोलाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
प्रहरीले श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ । दानसिंह मानसिक रोगी भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस