काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल लाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला को इजलासले उक्त आदेश दिएको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितान का अनुसार मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकाले दुवैलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइएको हो।
यो मुद्दामा ३९ प्रतिवादी रहेका छन्, जसमध्ये ३४ जना व्यक्ति र पाँच वटा कम्पनी छन्। अभियोजन पक्षले भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरेको छ भने अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
प्रहरीले अनुसन्धानका क्रममा भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते तथा गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि दायर अभियोगपत्रमा भट्टले आर्थिक वर्ष २०७४/७५ मा आफ्नो स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्याङ्कनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी सम्पत्ति थप गरेको उल्लेख गरिएको छ।
यस्तै, भट्टको स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७÷७८ मा ४५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको अभियोगपत्रमा दाबी गरिएको छ। उक्त रकम बैंकिङ कसुर तथा कर्जा अपचलनबाट प्राप्त स्रोतमार्फत लगानी गरिएको आशंका अनुसन्धान निकायले गरेको छ।
भट्ट र अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र तथा बीमा कसुरसम्बन्धी मुद्दा र पाटन उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दासमेत विचाराधीन रहेका छन्।
प्रतिक्रिया दिनुहोस