बिहिवार , भाद्र ५, २०८२
Shares
Shares
काठमाडौँ । मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र विदेशीलाई हिमालका चुचुरोमा पुर्याएका छन् । हिमालमा अलपत्र परेका सयौँको उद्धार गरेका छन् । त्यति मात्रै होइन, हिमाललाई जलवायु परिवर्तनबाट बचाउन कैयौँ पटक हिमाल सफा गरेका छन् ।
तर पछिल्लो समय हिमालमा काम गर्ने जनशक्ति घट्दै गएको उनले देखेका छन् । जलवायु परिवर्तनको असरले हिमाल पगाल्दै जाँदाको असर महसुस गरेका छन् । हिमालमा अलपत्र परेका आरोहीहरुको उद्धारका क्रममा देखिएका समस्या पनि भोगेका छन् । नेपालको पर्यटनको प्रमुख आधार हिमालप्रति भइरहेको वेवास्ता र यसले निम्त्याएको समस्या समाधानमा सक्रिय शेर्पा यतिबेला नेतृत्व तहमा पुगेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
यसअघि नेपाल पर्वतारोहण संघमा कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका मिङ्मा यही भदौ ७ गते हुन लागेको संघको कार्यसमितिमा प्रथम उपाध्यक्षका उम्मेदवार छन् । शेर्पा हिमाल आरोहणलाई व्यवस्थित गर्न, दक्ष जनशक्ति उत्पादन गर्र्न र उद्धारलाई प्रभावकारी बनाउने योजनाका साथ नेतृत्वमा आउन चाहेको बताउँछन् ।
“हिमाल आरोहण गर्नेहरुका लागि लगानी गर्ने चलन नै छैन, एक दशकअघिसम्म वार्षिक ६० जनासम्म जनशक्ति उत्पादन भइरहेकामा अहिले त्यो शून्यमा झरेको अवस्था छ”, उनले भने, “यदि हामीले समयमै यसतर्फ ध्यान दिएनौँ भने हाम्रो पहिचान मेटिन सक्छ ।”
प्रविधिको प्रयोग अहिले उन्नत स्तरमा भइरहेको छ । प्रविधिको प्रयोग हिमाल आरोहण, उद्धार र फोहर संकलनमा पनि भइरहेको छ । यस्तो अवस्थामा आरोहणसम्बन्धी समस्या नयाँ ढंगबाट पनि सम्बोधन गर्नुपर्ने हुन्छ भन्ने उनले बुझेका छन् । “आरोहणमात्रै होइन, उद्धारमा ठूलो समस्या अझै पनि छ, हिमाल आरोहणका समयमा उद्धारका लागि हाम्रो तयारी नै हुँदैन, जुन समयमा समस्या पर्छ, त्यहीअनुसार उद्धारमा जुट्ने अवस्था छ”, उनले भने, “संघले उद्धारका लागि जनशक्ति तयार गर्नुपर्ने आवश्यक छ । यसले जोखिम कम गराउन ठूलो सहयोग गर्नेछ ।”

को हुन् मिङ्मा ग्याबु शेर्पा ?
सन् १९८९ मे १६ मा ताप्लेजुङमा जन्मिएका मिङ्मा ग्याबु शेर्र्पालाई धेरैले मिङ्मा डेभिड शेर्पाका नामले चिन्छन् । हिमाल आरोहण गरेरै विश्व कीर्तिमान काम गरेका छन् । उनका नाममा सबैभन्दा कम उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेको विश्व कीर्तिमान छ ।
सन् २०२१ को जनवरी १६ मा उनीसहित दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेका थिए ।
केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा विन्टर सिजनमा उनीहरुले गरेको त्यो पहिलो आरोहण थियो । त्यसअघि विन्टरमा केटु आरोहण गर्ने ४८ वटा असफल प्रयास भएका थिए ।
मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उनी गाउँकै पहिलो व्यक्ति हुन् । फक्ताङ्लुङ गाउँपालिकामा जन्मिएका उनको बाल्यकाल पनि त्यहीँ बित्यो । गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरु अमेरिका, क्यानडा र युरोपतिर जान्थे । मिङ्माको परिवार कृषिमै निर्भर थियो ।
सन् २००७ ताका विद्यालयमा पढ्दै गर्दा घुम्नका लागि दार्जलिङको योजना बनाएर काठमाडौँ आएका उनी यतै रोकिए । तत्कालीन समयमा मधेसमा आन्दोलन चर्कंदो थियो । काठमाडौँमा पनि हरेक दिन बन्दका घटना भइरहन्थे । आन्दोलनका कारण उहाँ घर जान पाएनन् ।
काठमाडौँमा बस्न खर्चको जोहो गर्ने क्रममा उनले पर्यटकको भारी बोक्ने काम पाए । दिनको ३०० रुपैयाँ आम्दानी हुन्थ्यो । तैपनि सन्तुष्ट हुनुको विकल्प थिएन । त्यो समयमा चिनेजानेकाहरुले काम मिलाइदिएका थिए । भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाए । आधार शिविरमा आरोहीहरु देखेपछि उनको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो ।
काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको रु ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिए । त्यसपछि उनी ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे । खत्रीले तीनपटक सगरमाथा आरोहण गरिसकेका थिए । “उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो”, मिङ्माले विगत सम्झँदै भने, “सन् २०१०, २०११ र २०१२ मा उहाँकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ ।”
त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै थिए । तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उनी आरोहणमा गएका थिए । सगरमाथा आरोहणपछि उनले उच्चस्तरीय तालिम लिन सुरु गरे । तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो ।

सन् २०१४ मा खुम्बु आइसफलमा १४ जना आरोहीको मृत्यु भयो । त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि परे । गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो । त्यतिखेर उनी अर्को कम्पनीमार्फत मकालुको आरोहणमा थिए ।
त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो । भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए । उनी चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय भए । काठमाडौँ फर्किएपछि उनी राहत लिएर सिन्धुपालचोक पुगे । सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो ।
सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकूल भयो । क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिमपहिरोमा बग्यो । भाग्यले यहाँ पनि मिङ्मा र उहाँको नेतृत्वको ४० जनाको टिम बच्यो ।
हिमालमा पटक–पटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यहीँ बिताउँछु भन्ने अठोट लिए । “हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरु काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ”, उनले भने ।
मिङ्माले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसकेका छन् । सगरमाथा र मनास्लु नौ–नौ पटक चढेका छन् भने केटु ६ पटक र बाँकी हिमालका चुचुरोमा एक–एक पटक पुगेका छन् ।
सुरुआत नै सगरमाथाबाट गर्नुभएका मिङ्माले पाँच वटा महादेशका हिमाल चढेका छन् । अर्जेन्टिनाको अकोनकागुवा, अफ्रिकाको किलिमिन्जारो, रसियाको इलब्रस कैयौँ पटक चढेका छन् । अब उनको ‘बकेट लिस्ट’मा इन्डोनेसियाको कास्र्टेन्ज पिरामिड र अन्टार्टिकाको भिन्सोन म्यासिफ आरोहण बाँकी छ ।
मिङ्माले सन् २०१६ हिमाल आरोहणसम्बन्धी छ वटा भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पाए । दुई महिनामा उनको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार गर्यो । सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ ।
तत्कालीन समयमा उनी एकैदिन सगरमाथा र ल्होत्से आरोहण गरेर आफ्नो नाममा विश्व रेकर्ड कायम गर्ने योजनामा त्यहाँ पुगेका थिए । योजनाअनुसार सगरमाथाको चुचुरोमा पुग्ने दिन पनि आयो । तर भइदियो के भने, भारत कोलकाताका एक दम्पती सगरमाथा आरोहण गरी फर्किने क्रममा थिए । तर चौथो शिविरमा श्रीमान् एक्लै आए, श्रीमतीको अत्तोपत्तो थिएन । रात ढल्दै थियो । ती महिला माथि नै छुटेको खबर सुन्नासाथ सगरमाथा आरोहणको योजना त्यागेर मिङ्मा उद्धारमा जुटे । ती महिला आठ हजार ६०० मिटरको उचाइमा एक्लै बसेकी रहिछन् । उनी हिउँले हात र खुट्टाका औँला काम नलाग्ने भइसकेको र अनुहार हिउँले डढेको अवस्थामा भेटिइन् ।
मिङ्माको टीमले रातारात उनलाई क्याम्प–फोरमा ल्यायो । भोलिपल्ट बिहान क्याम्प–३ हुँदै क्याम्प–२ मा ल्याएर हेलिकप्टरमार्फत काठमाडौँ पठायो । काठमाडौँमा उपचारपछि उनी बाँचिन्, तर हात र खुट्टाका औँला भने गुमे । ती महिलासँग त्यसयता तीन पटक भेट भइसकेको छ । प्रत्येक भेटमा आफूलाई बचाएकामा धन्यवाद दिन्छन् ।
“छ महिनाअघि काठमाडौँको विमास्थलमा भेट भएको थियो, अहिले त उमेर बढेर होला अनुहार पनि नचिनिने भएको रहेछ, मलाई नामले बोलाउँदै हात देखाएपछि पो चिनेँ”, मिङ्माले भने, “त्यो भेटमा पनि निकै आत्मीय ढङ्गले कुरा गर्दै धन्यवाद दिइन् ।”

मिङ्मा आफूले त्यो दिन लिएको निर्णय जीवनकै सबैभन्दा राम्रो हो भन्छन् । यदि त्यो दिन रेकर्डका लागि आरोहण गरेको भए अहिलेसम्म टुटिसक्थ्यो, तर ती महिला अहिले पनि जीवित छन् । “तत्कालीन समयमा लिएको निर्णयले अहिले पनि गर्व महसुस हुन्छ”, उनले भने ।
हिमाल चढ्ने मिङ्माले आरोहणसम्बन्धी काम गर्न सन् २०१६ मा कम्पनी सुरु गर्नुभयो । तर व्यवसायको ज्ञान नभएकाले चलेन । सन् २०१८ मा आइपुग्दा ३५ लाख रुपियाँ डुब्यो । हिमालमा भारी बोकेर कमाएको पैसा व्यवसायमा डुब्यो । पहिलो कम्पनी नचले पनि उनले सन् २०१८ मा निर्मल पुर्जा अर्थात् निम्स दाईसँग मिलेर एलाइट एक्सपेड कम्पनी सुरु गरे । उक्त कम्पनीमा सन् २०२१ मा मिङ्मा तेञ्जी शेर्पा पनि जोडिए ।
अहिले उक्त कम्पनीले हिमाल आरोहणसम्बन्धी काम गर्दै आएको छ । उक्त कम्पनीले स्काइ डाइभिङसम्बन्धी तालिमहरु विभिन्न देशमा सञ्चालन गर्दै आएको छ । सन् २०१९ मा मिङ्मा एकै वर्षमा १० वटा हिमाल चढे । सन् २०१९ मा निर्मल पुर्जासँग मिलेर ‘प्रोजेक्ट पोसिबल’ सम्पन्न भयो ।
जसमा ६१ दिनमा १४ वटै हिमाल आरोहण गर्ने निर्मल पुर्जाको अभियान सफल पार्न मिङ्माले महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यही प्रोजेक्टअन्तर्गत निर्मल पुर्जाले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान कायम गरे ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस