बिहिवार , आश्विन १६, २०८२
Shares
Shares
काठमाडौं । दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वादको पनि आफ्नै महत्व छ। कतिपयले बोलीचालीको भाषामा आशिर्वाद दिने गर्छन् भने कतिपयले संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ।
आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ।
परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्हरूको धारणा रहेको छ।
दशैँमा पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक छन् । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठाग्र भए पनि यसको अर्थ भने सबैलाई थाहा नहुन सक्छ। यहाँ दुवै श्लोकका अर्थ बुझाउन गइरहेका छौँ ।
पुरुषलाई आशीष दिँदा भनिने श्लोक:
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।
महाभारतका एक चर्चित पात्र हुन् अश्वत्थामा । गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामालाई अमरत्व प्राप्त छ । महाभारतमा अश्वत्थामाको पात्र चित्रण जुनसुकै रुपमा भएपनि अष्ट चिरञ्जीवीमध्ये एक मानिने उनकै जस्तो दीघ आयु होस् भन्ने हेतुले आशीष दिदाँ ‘आयु द्रोणसुते’ भन्ने गरिन्छ ।
राजा दशरथको कीर्ति विश्वभर फैलिएको मानिन्छ । उनी भगवान रामका पिता थिए । एक आदर्श राजाका रुपमा उनले प्राप्त गरेको सम्मानजस्तै सम्मानित बन्नु भन्ने आशीष दिनका लागि ‘श्रेयं दशरथे’ भनिन्छ ।
राघव अर्थात् भगवान श्रीकृष्ण अधर्ममाथिको लडाईका विजेता हुन् । शत्रु परास्त गर्नका लागि कृष्णको जस्तो क्षमता होस् भन्ने आशीष दिनका लागि ‘शत्रु क्षेयं राघवे’ भन्ने गरिन्छ ।
कुनै बेला पृथ्वीलोकमा शासन गरेका राजा नहुषले स्वर्गमा पनि शासन गर्ने अवसर पाए । स्वर्गका राजा ईन्द्र ब्रह्महत्याको दोषका कारण मानसरोवरमा रहेका बेला राजा नहुषले स्वर्गमा शासन गर्ने अवसर पाएका थिए । पृथ्वी र स्वर्ग दुवै लोकमा शासन गर्नसक्ने राजा नहुषको जस्तै ऐश्वर्य होस् भन्ने आशीष दिनका लागि ‘ऐश्वर्यं नहुषे’ भन्ने गरिन्छ ।
पवन अर्थात हावा । हावाको गति सबैभन्दा तेज छ । हावामा जस्तै तेज गति प्राप्त होस् भन्ने आशीष दिनका लागि ‘गतिश्च पवने’ भन्ने गरिन्छ ।
महाभारतकथामा जुनरुपमा चित्रण गरिएपनि दूर्योधनको अभिमान सर्वत्र चर्चाको विषय हो । महाभारत युद्धमा सबैथोक गुमाएर हारको सनिक्कट हुँदा दूर्योधनलाई पाँच पाण्डवमध्ये जोकोहीलाई हराएर युद्ध जित्ने अवसर थियो । आफूभन्दा निर्बल पाण्डवसंग लडेर युद्ध जित्ने छुट हुँदाहुँदै दूर्योधनले आफ्ना चिर प्रतिद्वन्द्वी भीमसंगै प्रतिस्पर्धा गर्न चाहे । त्यसमा पनि भीमको बलियो पक्ष मानिएको गदायुद्ध गर्न नै दूर्योधन तयार भए । आफूभन्दा कमजोरसँग नभएर समानसँग प्रतिस्पर्धा गर्छु भन्ने अभिमानले सयौं अवगुणका बीच दूर्योधनको सकरात्मक पक्षलाई उजागर गरेको छ । यसर्थ मान दूर्योधनको जूस्तो होस् भन्ने आशीष दिनका लागि ‘मानं च दूर्योधने’ भन्ने गरिन्छ ।
महाभारतका प्रमुख पात्र मध्येका एक हुन् भीष्म । जो राजा शन्तनुका छोरा थिए । शन्तनुका छोरा भीष्मको जस्तै सौर्य र पराक्रम रहोस् भन्नका लागि ‘शौर्यं शान्त नभे’ भन्ने गरिन्छ ।
भगवान् कृष्णका दाजु बलराम गोकुलका राजा नन्दन र यशोदा पुत्र हुन् । उनी भगवान विष्णुका २४ अवतारमध्येका एक मानिन्छन् । उनलाई ‘हलधर’ उपनामले पनि चिनिन्छ । उनै बलरामको जस्तो बल होस् भन्ने आशीष दिनका लागि ‘बलं हलधरे’ भन्ने गरिन्छ ।
धर्मराज युधिष्ठिर कुन्तीपुत्र हुन् । सत्यप्रति सदा प्रतिवद्ध व्यक्तिका रुपमा रहेका उनै कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यवादी हुनु भन्ने आशीष दिनका लागि ‘सत्यं च कुन्तीसुते’ भन्ने गरिन्छ ।
विदुर हस्तीनापुरका प्रधामन्त्री थिए । आफ्नो ज्ञान, विवेक र नैतिक मूल्यका लागि विदूर परिचित छन् । त्यसैले विदूमा जस्तो विवेक र ज्ञान होस् भन्ने आशीष दिनका लागि ‘विज्ञानं विदूरे’ भन्ने गरिन्छ ।
भगवान नारायणलाई भगवानहरुको पनि भगवान मानिन्छ । उनका विभिन्न अवतारले विभिन्न लोकमा कीर्ति छोडेका छन् । त्यसैले भगवान नारायणको जस्तो कीर्ति रहोस् भन्नका लागि ‘कीर्तिश्च नारायणे’ भन्ने गरिन्छ ।
महिलालाई आशीष दिँदा भनिने श्लोक:
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते
दशैँ मूलतः असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने पर्व हो ।
राक्षस महिषासुरलाई देवी दुर्गा भवानीले परास्त गरेको कथा दसैंसंगै जोडिएर आउँछ । यसर्थ दसैं मूलतः देवी पूजन पनि हो । यहीकारण आशीष दिदाँ महिलाहरुलाई दुर्गा भवानीका विभिन्न नामहरुजस्तै प्रसिद्धी मिलोस् भनेर कामना गर्ने चलन छन् । ‘जयन्ती, मंगलाकाली, भ्रदकाली, कपालीनी, दुर्गा, क्षमा, शिवा, धात्री,स्वाहा र स्वधा नामले प्रसिद्ध देवी तिमीलाई नमस्कार छ’ भन्ने आशयले यो श्लोक वाचन गरेर आशीर्वाद दिने गरिन्छ ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस