विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले १०० दिनको अवधिमा पर्यटन प्रवद्र्धन, वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन तथा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको “१०० दिनका १०० उल्लेखनीय कार्य” मा प्रदेशका विभिन्न जिल्लामा भएका विकास तथा संरक्षणका गतिविधिहरू समेटिएका छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ओखलढुङ्गाको हर्कपुरमा पर्यटन सूचना केन्द्र स्थापना गर्दै पर्यटन पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ जनाएको छ । कोशी प्रदेशले गण्डकी, बागमती र मधेश प्रदेशसँग अन्तरप्रदेशीय पर्यटन प्रवद्र्धनका लागि समझदारी गर्दै धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनलाई संयुक्त रूपमा प्रचार गर्ने सहमति गरेको मन्त्री भिम पराजुलीले जानकारी दिए ।
मन्त्री पराजुलीले अनुसार पोखरा–विराटनगर सिधा हवाई सेवा, पर्यटकीय बस सञ्चालन तथा रामधुनीलाई रामायण सर्किटसँग जोड्ने पहलका समेत अघि बढाइएको बताए । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशका होमस्टे प्रवद्र्धनका लागि विभिन्न प्रदेशका होमस्टे व्यवसायीहरूको अवलोकन भ्रमण गराइएको छ भने इलाम, ताप्लेजुङ र खोटाङमा होमस्टे सञ्चालकलाई सीप विकास तालिम प्रदान गरिएको छ ।

संघीय सरकार, स्थानीय तह र स्वीस विकास सहयोगको साझेदारीमा सञ्चालन भइरहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत ४६.९ किलोमिटर पदमार्ग निर्माण तथा मर्मत सम्पन्न भएको छ । लालीगुराँस, मुन्दुम, फाल्गुनन्द र चियाबारी पदमार्गमा विश्रामस्थल, सार्वजनिक शौचालय, खानेपानी धारा लगायत १३२ वटा संरचना निर्माण भएका छन् ।
मुन्दुम अल्ट्रा ट्रेल, लालीगुराँस महोत्सव, चौरी महोत्सव र रैथाने खाना महोत्सव जस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेको मन्त्रालयको दाबी छ । मुन्दुम पदमार्गको प्रचारका लागि फिल्मका हलहरू, बुद्ध एयर तथा श्री एयरलाइन्ससँग सहकार्य गरी विज्ञापन र बोर्डिङ पास प्रचार अभियान सञ्चालन गरिएको छ ।
वन व्यवस्थापनतर्फ समुदायमा आधारित वन व्यवस्थापनलाई सुदृढ बनाउन ७७ वटा सामुदायिक वन र २१ वटा कबुलियती वनको कार्ययोजना नवीकरण गरिएको छ । वन पैदावार व्यवस्थापनबाट प्रदेश सरकारले ६ करोडभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।
सरकारद्वारा व्यवस्थित वन तथा सामुदायिक वनबाट लाखौं क्यूफिट काठ उत्पादन तथा बिक्री वितरण भएको छ। निजी वनबाट मात्रै १ करोड ७७ लाख ८२ हजार क्यूफिटभन्दा बढी काठ उत्पादन तथा बिक्री भएको मन्त्रालयले उल्लेख गरेको छ ।
मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि झापा, मोरङ र सुनसरीमा भेटेनरी डाक्टरसहितको ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी ड्रोनमार्फत गस्ती सञ्चालन गरिएको छ । झापा र सुनसरीमा सौर्य तारबार जडान तथा मर्मत कार्य अघि बढाइएको छ ।
वन्यजन्तु पीडित १ हजार ६६ जनालाई २ करोड १८ लाख २४ हजार रुपैयाँ राहत वितरण गरिएको छ । ओखलढुङ्गामा बाँदर धपाउने उपकरण वितरण गरिएको छ भने विभिन्न जिल्लाबाट ११८ भन्दा बढी सर्प उद्धार गरी सुरक्षित व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

रेड पाण्डा संरक्षणका लागि सन्दकपुरमा अन्तरदेशीय संवाद कार्यक्रम सम्पन्न भएको छ । ओखलढुङ्गामा रेड पाण्डा सर्वेक्षण तथा पहिरो नक्साङ्कन सम्पन्न गरिएको छ । जलथल वन क्षेत्रमा प्राकृतिक पुनर्जनन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमार्फत अनुसन्धान प्लट संरक्षण तथा बीउ उत्पादन क्षेत्र स्थापना कार्य भइरहेको छ । विभिन्न जिल्लामा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरी उपकरण वितरण गरिएको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा पहिरो नियन्त्रण, सिमसार संरक्षण, चुरे संरक्षण, सडक पहिरो रोकथाम, संरक्षण पोखरी निर्माण तथा बायो–इन्जिनियरिङ कार्यक्रम सम्पन्न भएका छन्। जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत टनेल खेती, फलफूल खेती तथा पानी मुहान संरक्षणका कार्यक्रम सञ्चालन गरिएको छ ।
मन्त्रालय र प्रदेश वन निर्देशनालयले चालु आर्थिक वर्षमा बेरुजु शून्य कायम गरेको जनाएको छ । प्रदेश स्रोततर्फ ३७.९८ प्रतिशत वित्तीय तथा ७२.५ प्रतिशत भौतिक प्रगति हासिल भएको मन्त्रालयको तथ्यांक छ ।
मन्त्री भीम पराजुलीले प्रदेशका १२ जिल्लामा अनुगमन तथा निरीक्षण गरी सेवा प्रवाहलाई जनमैत्री र प्रभावकारी बनाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस