२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ जनाले पाए उपचार तथा परामर्श

मंगलवार , बैशाख २९, २०८३

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो ।

शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ। त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई नि:शुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ।

"नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था छ,  नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो,"  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने ।

"बैंकले चारवटा प्रदेशमा आयोजना गरेको जलन शिविरमार्फत श्रोतको अभावका कारण उपचारको पर्खाइमा बसेका दुरदराजका करिव पाँच सय जना बिरामीले नि:शुल्क उपचार तथा परामर्श सेवा लिए।"

बैंकले यसअघि सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट प्रकारको सेवा उपलब्ध हुन नसकेको अवस्थामा शिविरले जलनका बिरामीलाई धेरै राहत पुर्याएको प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए ।

"यस प्रकारको सेवा उपलब्ध नभएको ठाउँमा २५ वटा शल्यक्रिया हुनु निकै कल्याणकारी काम हो । जलनको पीडा भोगेका बिरामीको पीडा कम गर्न खटिनुभएका कर्मचारी र आर्थिक रुपमा सहयोग गर्नु हुने नबिल बैंकलाई धन्यवाद दिन चाहन्छु", डा. रसाइलीले भने । आगामी दिनमा पनि यसप्रकारको सहकार्यको आशा गरेको उनले बताए ।

बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपाचार तथा परामर्श पाएका थिए । यस्तै गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ