२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

दिनेश थकालीको नेतृत्वमा कामना सेवा विकास बैंकले मार्‍याे ‘छलाङ’ : खुद नाफामा ३३.५१ प्रतिशतको वृद्धि

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । बैंकिङ क्षेत्रमा कर्जा विस्तारमा सुस्तता, असुलीमा दबाब र निष्क्रिय कर्जाको चुनौती बढिरहेका बेला कामना सेवा विकास बैंकले भने उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ।

सिइओ दिनेश थकालीको नेतृत्वमा बैंकले व्यवसाय विस्तार, नाफा वृद्धि र वित्तीय सुदृढीकरणमा उल्लेख्य सफलता हासिल गर्दै आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म बलियो वित्तीय प्रदर्शन गरेको हो।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले बैंकका प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य सुधार देखाएको छ।

सिइओ थकालीले कार्यभार सम्हालेपछि बैंकको आन्तरिक व्यवस्थापन, व्यवसाय विस्तार र असुली सुधारमा अपनाइएको रणनीतिक योजनाको सकारात्मक प्रभाव वित्तीय परिणाममा देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ३३.५१ प्रतिशतको वृद्धि हो।

त्यस्तै, बैंकको सञ्चित वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले आफ्ना सेयरधनीलाई १५.१६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। चुनौतीपूर्ण बैंकिङ बजारमा समेत दोहोरो अंकको लाभांश क्षमता कायम गर्नु बैंकको वित्तीय सुदृढताको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

बैंकको नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा १९.०८ रुपैयाँ रहेको ईपीएस १९.२३ प्रतिशतले बढेर २२.७५ रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ पुगेको छ भने कुल इक्विटी ६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानीमा पनि १२.३१ प्रतिशतको वृद्धि भएको छ। खराब कर्जाबापत गरिएको प्रोभिजनबाट बैंकले १३ करोड ६५ लाख रुपैयाँ रिभर्सल गर्न सफल भएको छ। यसले बैंकको असुली व्यवस्थापनमा भएको सुधार र व्यवस्थापन टोलीको सक्रियतालाई समेत प्रतिबिम्बित गर्छ।

निक्षेप र कर्जा दुवैतर्फ विस्तार

समीक्षा अवधिसम्म बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। एक वर्षको अवधिमा ग्राहक निक्षेप ५.३२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाहमा ८.२५ प्रतिशतको वृद्धि भएको छ। यसले बैंकले व्यवसाय विस्तारसँगै निक्षेप र कर्जा व्यवस्थापनमा समेत सन्तुलित रणनीति अपनाएको देखाउँछ।  

बैंकको पुँजी पर्याप्तता अनुपात १२.५८ प्रतिशतबाट बढेर १४.१६ प्रतिशत पुगेको छ। यसले बैंकको जोखिम वहन क्षमता थप बलियो बनेको संकेत गर्छ। त्यस्तै, बैंकको रिटर्न अन इक्विटी १३.८७ प्रतिशत र रिटर्न अन एसेट्स १.२२ प्रतिशत कायम भएको छ।

कामना सेवा विकास बैंकले वित्तीय पारदर्शिता र रिपोर्टिङमा समेत आफ्नो अग्रणी स्थान कायम राखेको छ। बैंक यस वर्ष पनि चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वित्तीय संस्थामध्ये अग्रणी बनेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभन्दा निकै अगाडि वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले चुस्त व्यवस्थापन र पारदर्शी वित्तीय अभ्यासको उदाहरण प्रस्तुत गरेको छ।

यसअघि पनि ‘बीपीए गोल्ड अवार्ड’ तथा दक्षिण एसियालीस्तरको ‘साफा अवार्ड’ प्राप्त गरिसकेको कामना सेवा विकास बैंकले वित्तीय प्रतिवेदनको गुणस्तर र पारदर्शितामा निरन्तरता दिँदै आएको छ।

सिइओ थकालीको नेतृत्वमा कामना सेवा विकास बैंकले चुनौतीपूर्ण बैंकिङ वातावरणका बीच नाफा, व्यवसाय विस्तार, असुली सुधार, पुँजी सुदृढीकरण र सुशासनका क्षेत्रमा उल्लेख्य प्रगति गर्नुले आगामी दिन याे बैंक अझ अब्बल बन्ने छनक दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट