विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्र अहिले गम्भीर आर्थिक चुनौतीका बीचबाट गुज्रिरहेको भन्दै उद्योगी व्यवसायी अझ जिम्मेवार, परिणाममुखी र एकताबद्ध हुनुपर्ने बताएका छन् ।
अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएपछि आयोजित पदस्थापन तथा स्वागत समारोहलाई सम्बोधन गर्दै उनले देशमा लगानीमैत्री वातावरण बन्न नसकेको, बजार संकुचित भएको, युवाशक्ति विदेश पलायन भइरहेको तथा नीतिगत अस्थिरताले निजी क्षेत्र दबाबमा परेको उल्लेख गरे ।
उनले कोशी प्रदेश उद्योग, कृषि, पर्यटन, जलस्रोत, स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा अत्यन्त सम्भावना बोकेको प्रदेश भएकाले अब ती सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्नुपर्ने समय आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहित विभिन्न मन्त्री, सरकारी अधिकारी, उद्योगी व्यवसायी तथा महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
अध्यक्षले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई दिँदै निजी क्षेत्रको हकहितका लागि एकताबद्ध भएर काम गर्न आग्रह गरे ।
उनले महासंघले विगत वर्षहरूमा आयोजना गरेको लगानी सम्मेलन, पर्यटन वर्ष २०८२, कृषि एक्स्पो, ढाका महोत्सव तथा रोजगार मेलाजस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । साथै, महासंघले गरेका गतिविधिको मूल्यांकन गर्दै गत वर्ष केन्द्रीय महासंघबाट उत्कृष्ट प्रदेशको सम्मान प्राप्त गरेको जानकारी दिए ।
उनले आगामी बजेटमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उत्पादनशील क्षेत्रमा लगानी आकर्षित गर्ने, आयात प्रतिस्थापन गर्ने तथा स्वदेशमै उद्योग स्थापना गर्न स्पष्ट नीति ल्याउन सरकारसँग माग गरे ।
संघीय सरकारको हालै सार्वजनिक नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र आशावादी रहेको उल्लेख गर्दै उनले “लगानी एक्सप्रेस” नीति, एकदिने कम्पनी दर्ता प्रक्रिया, औद्योगिक नीति परिमार्जन, मध्यमवर्गीय परिवारलाई कर राहत तथा डेटा सेन्टर र डिजिटल पार्क स्थापना जस्ता घोषणाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

उनले आगामी कार्यकालमा महासंघको स्थायी भौतिक संरचना निर्माण, संगठन विस्तार, व्यवसायमैत्री नीति निर्माण, उद्योगी व्यवसायीको सुरक्षा, पर्यटन प्रवद्र्धन, रोजगारमूलक तालिम सञ्चालन तथा गार्मेन्ट, टेक्सटाइल र ढाका उद्योगको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना सार्वजनिक गरे ।
अन्त्यमा उनले उद्योगी व्यवसायीहरूको हकहितका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहने तथा सदस्यहरूको सहयोग, सुझाव र सद्भावका साथ महासंघलाई अझ प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस