विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कोशी प्रदेशका पूर्वाधार, ऊर्जा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।
बजेटमा कोशी करिडोर निर्माणदेखि जलविद्युत् आयोजना र आधुनिक खेलकुद संरचना विकाससम्मका महत्त्वाकांक्षी योजनाहरू समावेश गरिएका छन् । सरकारले कोशी करिडोर निर्माण कार्यलाई तीव्रता दिने घोषणा गरेको छ ।
चालु आर्थिक वर्षभित्र उक्त करिडोरअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे गरिने अर्थमन्त्रीले जानकारी दिए । साथै, भारतसँगको यातायात तथा व्यापारिक पहुँच विस्तार गर्ने उद्देश्यले बथनाहा–विराटनगर रेलमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
ऊर्जा विकासतर्फ कोशी प्रदेशलाई जलविद्युत्को प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित अरुण नदीमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिइएको छ । अर्ध–जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि स्रोत सुनिश्चितता गरिने बजेटमा उल्लेख छ ।
साथै, अरुण–४ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाइने र निर्माणाधीन अरुण तेस्रो तथा तल्लो अरुण आयोजनाको विकासमा सरकारले आवश्यक सहजीकरण गर्ने नीति लिएको छ ।
शहरी पूर्वाधार तथा वातावरण व्यवस्थापनअन्तर्गत प्रमुख शहरहरूमा एकीकृत फोहोरमैला व्यवस्थापन, खानेपानी तथा ढल व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । संखुवासभाको खाँदबारीमा ढल प्रशोधन केन्द्र निर्माण गरिने घोषणा गरिएको छ ।
त्यस्तै, झापाको मेचीनगरमा विपन्न तथा लक्षित वर्गका लागि १०० वटा आवास भवन निर्माण गरिने भएको छ । खेलकुद पूर्वाधार विकासलाई समेत सरकारले प्राथमिकतामा राखेको छ । विराटनगरमा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ ।
साथै, आधुनिक क्रिकेट रंगशाला तथा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण प्रक्रियालाई अघि बढाउन आवश्यक बजेट विनियोजन गरिएको सरकारको बजेट भाषणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस