काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भएको बताएका छन् । उनले सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने धारणा पनि व्यक्त गरेका छन् ।
भारतीय दैनिक हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित लेखमा लामिछानेले उग्र राष्ट्रवादी भावनालाई चुनावी स्वार्थका लागि प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन् । उनले ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं । हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन् ।
लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत भूराजनीतिक बहसभन्दा माथि उठाएर विकास, लगानी, व्यापार र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्। उनले नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत आएको शान्तिपूर्ण क्रान्ति’ को संज्ञा दिँदै रास्वपाको उदयलाई नयाँ राजनीतिक यथार्थका रूपमा प्रस्तुत गरेका छन् ।
नेपाल र भारत साझा सभ्यता र संस्कृतिले जोडिएका साझेदार भएको उल्लेख गर्दै उनले जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।
लेखमा उनले १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए व्यापार, पर्यटन र जनस्तरको सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् । साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुसम्म सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
लामिछानेले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थान आईआईटी र एम्सजस्ता संस्थाहरू नेपालमा स्थापना गर्न सहकार्य गर्न आह्वान गरेका छन् । साथै काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक तथा डिजिटल भुक्तानी प्रणालीमा सहकार्य विस्तार गर्न भारतलाई आग्रह गरेका छन् ।
नेपालको जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको स्रोत बन्न सक्ने उल्लेख गर्दै उनले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन् । सीमामा रहेका प्रशासनिक अवरोध हटाई आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।
पर्यटन क्षेत्रतर्फ जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस