काठमाडाैँ । सरकारले पुराना फाइल खाेल्ने बताइरहेका बेला नेकपा एमालेले गिरिबन्धु टी–स्टेट प्रकरणसहित विवादित भनिएका सबै फाइल सार्वजनिक गर्न माग गरेकाे छ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले उपाध्यक्ष पद्या अर्यालले त्यस्ता सबै फाइल खाेली निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिएकी छन् ।
अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै प्रकरणको निष्पक्ष अनुसन्धान गर्न सरकारलाई आग्रह गर्दै सत्य तथ्य जनतासामु ल्याउनुपर्ने बताइन्। साथै, आरोपहरू छानबिनबाट पुष्टि नभए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठाइन्।
“बजेटसम्बन्धी सुझाव र प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्रीले व्यक्त गर्नुभएको धारणा आपत्तिजनक छ। कसलाई लक्षित गरेर यस्तो भनिएको हो? यदि फाइल खोल्ने कुरा हो भने पहिलो नम्बरमा गिरिबन्धु टी–स्टेटको फाइल खोलियोस्। त्यसपछि ओम्नी, वाइडबडी वा अन्य जुनसुकै विवादित फाइल छन्, ती पनि सार्वजनिक गरी सत्य तथ्य बाहिर ल्याइयोस्,”उनले भनिन् ।
बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएका थिए ।
अर्यालले संसदजस्तो सर्वोच्च लोकतान्त्रिक थलोमा सरकारका जिम्मेवार पदाधिकारीबाट विपक्षीलाई धम्क्याउने शैली अपनाइनु दुर्भाग्यपूर्ण रहेकाे बताइन् ।
प्रतिक्रिया दिनुहोस