काठमाडौं / नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले संकलन गर्ने सुझावका आधारमा आवश्यक निर्णय गरिने बताएका छन्। पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरणको अभियान आवश्यक रहेको उनको भनाइ छ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले चुनावी समीक्षा र संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर सुझाव संकलनको काम भइरहेको जानकारी दिए । उनका अनुसार पुनर्गठनका लागि गठन गरिएको कार्यदलले मातहतका कमिटी तथा पार्टी पङ्क्तिबाट प्राप्त सुझावलाई समेटेर कार्ययोजना तयार गर्नेछ ।
उनले पार्टीभित्र संस्थागत ढंगले छलफल र समीक्षा गर्ने संस्कृतिलाई बलियो बनाउँदै संगठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए। कार्यकर्ताहरूले पनि पार्टी अहिलेको अवस्थामा नयाँ सोच र नयाँ कार्यशैलीसहित अघि बढ्नुपर्ने धारणा राखिरहेको उनले बताए ।
पोखरेलले एमालेलाई अझ प्रभावकारी बनाउन वैचारिक स्पष्टता, राजनीतिक एकता र संगठनात्मक सुदृढीकरणमा जोड दिनुपर्ने उल्लेख गरे। यथास्थितिमा रहेर पार्टीलाई थप एकताबद्ध बनाउन कठिन हुने भएकाले परिवर्तन र सुधारको अभियान आवश्यक रहेको उनको भनाइ थियो।
उनले पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरणको अभियान सञ्चालन गरेर संगठनलाई नयाँ ऊर्जा र दिशासहित अघि बढाइने बताए। कार्यदलको प्रतिवेदन र सुझावका आधारमा आगामी दिनमा आवश्यक निर्णय लिइने उनले स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस