प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा एमाले सांसदहरूले बजेट वितरण, क्षेत्रगत प्राथमिकता र योजनाको कार्यान्वयनबारे सरकारको आलोचना गरेका छन्।
नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति प्रधानमन्त्री बालेन्द्र शाह स्वयं विश्वस्त नरहेको टिप्पणी गरे। प्रधानमन्त्रीले देश निर्माणका लागि घोषणा गरेको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समावेश नभएको उल्लेख गर्दै उनले बजेटप्रति प्रधानमन्त्रीकै विश्वास नरहेको संकेत मिलेको दाबी गरे।
महरले अर्थमन्त्री वाग्लेमाथि बजेटको न्यायोचित वितरण नगरेको आरोप लगाउँदै पिछडिएका र दुर्गम क्षेत्रलाई बेवास्ता गरी आफ्नै जिल्ला तथा क्षेत्र केन्द्रित बजेट विनियोजन गरेको आरोप लगाए। पूर्वाधार आवश्यक भएका दुर्गम जिल्लाहरू बजेटबाट वञ्चित भएको उनको भनाइ थियो।
उनले शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको बताए। बुढानिलकण्ठ विद्यालयका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै देशभरका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ठोस कार्यक्रम बजेटमा नदेखिएको उनको टिप्पणी थियो। बजेटमा कर बढाउने विषयलाई प्राथमिकता दिइएको तर शिक्षा सुधारका कार्यक्रम समावेश नभएको उनले बताए।
त्यस्तै, एमाले सांसद गुरुप्रसाद बरालले प्रत्येक स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे। विज्ञान तथा प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार र लगानी पर्याप्त नभएको उल्लेख गर्दै उनले यस क्षेत्रमा विनियोजित ४ अर्ब रुपैयाँको बजेट अत्यन्त न्यून रहेको बताए।
बरालले साधारण खर्चमा वृद्धि देखिए पनि अनुसन्धान, खोज तथा नवप्रवर्तनका क्षेत्रमा पर्याप्त लगानी नभएको बताए। मुलुकको आर्थिक विकास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न विज्ञान तथा प्रविधिमा थप लगानी आवश्यक रहेको उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस