कुमारी बैंकले प्लाटिनम अवार्ड जितेको छ । बैंकले अन्तर्राष्ट्रियस्तर अवार्डको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्डस्–२०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ प्लाटिनम अवार्ड प्राप्त गरेको हो ।
यो सम्मान बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रियासम्बन्धी उल्लेखनीय पहलका लागि प्रदान गरिएको बताइएको छ । इन्फोसिस फिनाकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासको कदर गर्न सञ्चालन हुँदै आएको छ । यस वर्ष नौ विधामा पाँच सयभन्दा बढी आवेदन परेका थिए । जसबाट कुमारी बैंकले आफ्नो केवाइसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्लाटिनम सम्मान प्राप्त गरेको हो ।
उक्त प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ पालना गर्न सहयोग पुर्याएको बताइएको छ । साथै, डिजिटल प्रविधिको उपयोगमार्फत सेवा प्रवाहलाई थप पारदर्शी र भरोसायोग्य बनाउन योगदान पुगेको बैंकले जनाएको छ । ‘यस अन्तर्राष्ट्रिय सम्मानसँगै बैंकले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ बनाएको छ,’ बैंकले भनेको छ ।
प्रतिक्रिया दिनुहोस