नेपालको औषधि उत्पादन क्षेत्रमा नयाँ र महत्वपूर्ण अध्याय सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत पहिलो औषधि उत्पादक कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि. लाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको छ ।
असार २ गते बसेको ओम मेगाश्रीको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने औपचारिक निर्णय गरेको थियो । त्यसलगत्तै असार ३ गते दुवै कम्पनीबीच प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ ।
नेपाली पुँजीबजारमा आईपीओ जारी गरी इतिहास रचेको ओम मेगाश्रीले अब प्राप्ति प्रक्रियामार्फत व्यवसाय विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ । कम्पनीका अनुसार यससँगै उत्पादन क्षमता वृद्धि, बजार विस्तार तथा स्वदेशी औषधि उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।
प्राप्तिपछि दुवै कम्पनीका उत्पादन पूर्वाधार, प्राविधिक स्रोतसाधन र व्यावसायिक संरचना एकीकृत हुनेछन् । यसले उत्पादन क्षमता बढाउनुका साथै अस्पताल, सरकारी निकाय तथा ठूला संस्थाहरु माग प्रभावकारी रूपमा पूरा गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, औषधिको उत्पादन दायरा विस्तार भई विभिन्न चिकित्सकीय क्षेत्रका औषधिहरू बजारमा उपलब्ध गराउने क्षमता समेत बढ्ने कम्पनीको भनाइ छ ।
ओम मेगाश्रीको वितरण कम्पनीमार्फत सञ्चालन भइरहेको देशव्यापी वितरण सञ्जाल पनि प्राप्तिपछि थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसबाट नेपालका दुर्गम क्षेत्रदेखि प्रमुख सहरका स्वास्थ्य संस्थासम्म औषधिको पहुँच विस्तार हुनेछ । कम्पनीले प्राप्तिपछि प्रशासनिक, खरिद तथा ढुवानीसम्बन्धी दोहोरो खर्च घट्ने र सञ्चालन दक्षता बढ्ने बताएको छ । लागत व्यवस्थापनमा सुधार आएपछि गुणस्तरीय औषधि प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ ।
औषधी विदेशमा निर्यात गर्ने योजना
मर्जपछि भविष्यमा औषधी विदेशमा निर्यात गर्ने योजना कम्पनीको छ । कम्पनीका अनुसार मर्जपछि भविष्यमा निर्यात बजारमा समेत ध्यान केन्द्रित गर्ने योजना बनाइएको छ । विशेषगरी भारतका सीमावर्ती क्षेत्र, बंगलादेश तथा अन्य सार्क मुलुकमा नेपाली औषधि निर्यातको सम्भावना बढ्नेछ । मर्ज प्रक्रिया नेपालको कम्पनी ऐन, धितोपत्रसम्बन्धी नियामकीय व्यवस्था तथा औषधि क्षेत्रका प्रचलित मापदण्डअनुसार अगाडि बढाइएको कम्पनीका उच्च अधिकारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार प्राप्तिले कम्पनीको वित्तीय आधार थप बलियो बनाउने, स्वदेशी उत्पादन प्रवद्दन गर्ने तथा आयात प्रतिस्थापनमार्फत औषधि क्षेत्रमा आत्मनिर्भरता बढाउन योगदान पु-याउने विश्वास गरिएको छ । भरतपुर–२९, चितवन मा मुख्य उत्पादन केन्द्र रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले यस प्राप्तिसँगै नेपाली औषधि उद्योगमा नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस