कृष्ण पौडेल / काठमाडौं ।
तिम्रो मौनता
घरभित्र राखिएको
कुनै पुरानो बन्द सन्दुक जस्तै छ
जसको भित्र
हाम्रा सबै उज्याला दिनहरू
बिस्तारै
सास फेर्न छोडदै गएका छन।
म हरेक दिन
एउटा शब्द बोकेर
तिम्रो ढोकासम्म आइपुग्छु
र फर्किन्छु
आफ्नै पाइतालाको आवाज सुन्दै।
तिमीले
मौनको चायादर
यसरी ओढेकी छौ
मानौ हिउँले
कुनै नदीको धडकनलाई
सधैका लागि
ढाकिदिएको हो।
मेरो लागि संवाद
केबल भाषा होइन
त्यो त
बाचिरहन गरिएको
अन्तिम प्रयास हो।
सम्बन्धमा
तिम्रो अनुपस्थिति भन्दा पनि
तिम्रो मौनताले
सबैभन्दा बढी डर पैदा गर्छ।
हिमनदीझै त्यो मौनता
मेरो वरिपरि
बिस्तारै फैलिदै गएको छ
जसका कारण
सास फेर्न समेत
कति कठिन हुन थालेको छ।
कहिले काही
तिम्रो एउटा साधारण कुरा पनि
दिन भरिको थकानबाट
मुक्ति दिलाइ दिन्थ्यो
मानौ प्रतीक्षामा रहेको
सुक्दै गएको तालमा
कुनै प्रवासी चरा
फर्केर आएको हो।
अहिले त
म आफ्नै आवाज भित्र
अपरिचित बन्दै गइरहेको छु।
प्रिय
तिमीलाई थाहा छ
मानिस
प्रेमको अभावले होइन
संवादको अभावले
सबै भन्दा पहिले मर्छ।
फर्केर आऊ
कुनै शब्द बनेर
कुनै गुनासो बनेर
कुनै अधुरो रिस बनेर भए पनि।
यति मात्र गर
कि यो जमेको सन्नाटा
अलिकति पग्लियोस
मन भित्र फेरि
उल्लास र जीवनको रस बगोस
र मलाई फेरि महसुस होस
कि मेरो भित्र
अझै पनि
जीवनको केही अंश बाँकी छ।
प्रतिक्रिया दिनुहोस