काठमाडौं । ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डीआर कङ्गोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
लगातार दोस्रो जित निकालेको कोलम्बिया ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहँदै अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको हो । यसअघि कोलम्बियाले आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई ३–१ ले हराएको थियो ।
मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुदेखि नै आक्रामक प्रदर्शन गरे पनि गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो। खेलको ७६औँ मिनेटमा ड्यानिएल मुनोजले जुआन क्वाटेरोको पासलाई सदुपयोग गर्दै विजयी गोल गरेका थिए । कोलम्बियाका लुइस डियाजले त्यसपछि दुई पटक बल जाली चुमाए पनि दुवै गोल अफसाइडका कारण मान्य भएनन् ।
पहिलो हाफमा डीआर कङ्गोका गोलरक्षक लियोनेल एमपासी उत्कृष्ट लयमा देखिएका थिए । उनले खेलभर ८ महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई ठूलो अन्तरको हारबाट जोगाए । खेलमा कोलम्बियाले १९ पटक प्रहार गर्दा ९ सट लक्ष्यमा राख्यो । डीआर कङ्गोले भने ८ सट प्रहार गर्दा एक मात्र सट लक्ष्यमा राख्न सफल भयो ।
दुई खेलबाट १ अङ्क मात्रै जोडेको डीआर कङ्गो समूहको तेस्रो स्थानमा छ। कङ्गोले अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जितेमा उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम रहनेछ ।
उता, कोलम्बियाले समूह विजेताको टुङ्गो लगाउन अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ । पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो । पोर्चुगललाई नकआउट चरण पुग्न कोलम्बियाविरुद्ध बराबरी नतिजा पर्याप्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस