काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा राजु शाहको निर्देशन रहेको चलचित्र ‘जाँड’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत यो चलचित्र आजदेखि सिनेमाघरहरूमा आएको हो ।
चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ ।
चलचित्र ‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ ।
चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरारमात्र होइन, नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ ।
छोराप्रतिको मोह तथा छोरीलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्या, त्यसविरुद्धको आवाजलाई चलचित्रले कथावस्तुको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ ।
राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायत कलाकारको अभिनय छ ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्तरूपमा तयार पारेका हुन् । चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन् ।
चलचित्रको मुख्य सहायक निर्देशकमा शम्भु गौतम र किशोर डंगोल रहनुभएको छ भने नरेन्द्रकुमार केसी सहनिर्देशकको भूमिकामा छन् । दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ । निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हालेका छन् । चलचित्रमा श्रीपुरुष ढकालका शब्द, रोशन बालुवाको संगीत तथा स्वर समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस