काठमाडौं / गृहमन्त्री सुधन गुरुङले देशभरका होटल तथा रेष्टुरेन्टको खानाको गुणस्तर र स्वच्छतामाथि कडा निगरानी गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा चितवन भ्रमण गर्दा एक होटलमा नास्ताका लागि खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटलप्रति असन्तुष्टि जनाएका थिए। त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनले उक्त होटलमा अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरेको थियो।
चितवन घटनापछि गृह मन्त्रालयले देशव्यापी रूपमा होटल तथा रेष्टुरेन्टहरूको सेवा, स्वच्छता र खाद्य गुणस्तरमाथि निगरानी बढाउने निर्णय गरेको हो। मन्त्रालयले आइतबार (असार १५ गते) सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै नियमित, सघन तथा आकस्मिक अनुगमन सञ्चालन गर्न निर्देशन दिएको छ।
गृह मन्त्रालयका अनुसार होटल तथा रेष्टुरेन्टमा अस्वच्छ खाना, कमजोर सेवा र गुणस्तरहीन खाद्य सामग्रीबारे सर्वसाधारणबाट व्यापक गुनासा प्राप्त भइरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै अनुगमनलाई केवल औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने तथा कानुन उल्लंघन गर्ने पक्षलाई कडा कारबाही गर्न सिडिओहरूलाई भनिएको छ।
मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा तत्काल दर्ता र सम्बोधन गर्न हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गर्न समेत निर्देशन दिएको छ। स्थानीय स्तरका समस्या समाधानका लागि नागरिकहरू मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।
‘स्थानीयस्तरका गुनासा र समस्याहरू जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा समाधान हुनुपर्छ,’ गृह मन्त्रालयको परिपत्रमा उल्लेख छ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादनमाथि प्रत्यक्ष निगरानी राख्ने जनाएको छ। कार्यसम्पादनमा लापरबाही, उदासीनता वा अक्षमता देखिए जिम्मेवार अधिकारीहरूलाई समेत जवाफदेही बनाइने चेतावनी दिइएको छ।
गृह मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित परिपत्र गृहमन्त्री गुरुङको निर्देशनमा जारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयले नागरिक केन्द्रित प्रशासन, खाद्य सुरक्षा र विधिको शासनलाई प्रभावकारी बनाउन स्थानीय प्रशासनले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने अपेक्षा गरेको छ।
प्रतिक्रिया दिनुहोस