इलाम । दुई वर्षअघि भीषण आगलागीबाट ठूलो क्षति बेहोरेको इलामको जस्बिरे चिया प्रशोधन उद्योगले चामत्कारिक पुनरुत्थान गर्दै आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । ८ करोड रुपैयाँ बराबरको क्षति व्यहोरेर शून्यबाट पुनः यात्रा सुरु गरेको यस उद्योगले यस वर्षदेखि आफ्नो उत्पादन क्षमता वार्षिक ३० हजार केजीबाट बढाएर १ लाख केजी पुर्याउने तयारी गरेको छ ।
एक दशकअघि मात्र १४ लाख रुपैयाँको न्यून लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले ८ करोडको ठूलो लगानीमा आधुनिक रूपमा सञ्चालन भइरहेको छ । उद्योगका सञ्चालक गृष्म सुब्बाका अनुसार यहाँ उत्पादित उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया विशेष गरी अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनी जस्ता विकसित मुलुकका बजारहरूमा लोकप्रिय बनेको छ ।
यस उद्योगको मुख्य विशेषता यहाँ उत्पादन हुने स्पेशल टी हो । उद्योगले वार्षिक ७ हजार केजी यस्तो चिया उत्पादन गर्ने गरेको छ, जसमध्ये करिब २ हजार केजी चियाको सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगका अर्का सञ्चालक शरद् सुब्बाले नेपालबाट प्रतिकेजी १५ हजार रुपैयाँमा निर्यात हुने यो चिया विदेशी बजारमा पुगेपछि उपभोक्तामाझ प्रतिकेजी १ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको जानकारी दिए । उद्योगमा हाल सुनकेसरी, रेडपान्डा र कोठीडाँडा ब्युटीलगायत ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गर्दछ ।
उद्योगको यो लोभलाग्दो सफलतामा स्थानीय सूर्य सुब्बाका चार भाइ छोरा र परिवारको व्यवस्थित कार्यविभाजन जोडिएको छ । चिया उद्योग क्षेत्रमा ब्रान्ड बनेको यस उद्योगमा नेपाल टी च्यालेन्ज–२०२४ का ‘बेस्ट टी मेकर’ शरद् सुब्बाले चियाको गुणस्तर र उत्पादन सम्हाल्छन् भने जेठो दाजु गृष्मले बजार व्यवस्थापन (मार्केटिङ) हेर्दछन् । त्यस्तै, साहिँला भाइ निर्विकल्पले प्राविधिक पाटो र कान्छा भाइ विकल्पले अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय मार्केटिङको कमाण्ड सम्हालिरहेका छन् । हालै पढाइ सकेर फर्किएका गृष्मका छोरा कर्मले उद्योगमा आउने विदेशी पाहुनालाई चियाको ब्रान्डिङ र ब्रिफिङ गर्ने जिम्मेवारी पाएका छन् ।
जस्बिरे चिया उद्योगले व्यावसायिक रूपमा आफ्नो ६० रोपनी र भाडामा लिएको ४०० रोपनी जमिनमा त चिया उत्पादन गर्छ नै, सँगै इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवार स्थानीय किसानले उत्पादन गर्ने हरियो चियापत्ती समेत खरिद गरेर स्थानीय अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको छ ।
वि।सं। २०४२ मा तत्कालिन समयमा स्थानीयलाई आलुखेतीसँगै चिया रोप्न सिकाउने अभियानकर्ता स्वर्गीय भैरव रिसालको प्रेरणाबाट सुरु भएको यहाँको चियाखेती आज सुब्बा परिवारको मेहनतका कारण विश्व बजारमा नेपाली पहिचानको गौरवमय प्रतीक बनेको छ।
प्रतिक्रिया दिनुहोस