काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुधबार साँझ करिब ६ः२० बजे सडकमाथिबाट एक्कासि सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने काम सुरु गरेको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उपकरण परिचालन गरेर पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण काठमाडौं–पोखरासहित पृथ्वी राजमार्ग हुँदै विभिन्न गन्तव्यतर्फ आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू पनि प्रभावित भएका छन्। हाल सडक सञ्चालन गराउने प्रयास तीव्र रूपमा जारी रहेको छ।
प्रहरीले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारीचालक तथा यात्रुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस