२०८३, श्रावण १ गते

शुक्रवार, श्रावण १ गते २०८३

चिकित्सा क्षेत्रमा केएमसीको ऐतिहासिक सफलता: ६७ वर्षीय बिरामीको फुटेको ब्रेन एभीएम बिनाचिरफार सफल उपचार

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग 'ब्रेन एभीएम' (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरेर नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ । चिकित्सकहरूका अनुसार ६७ वर्षको पाको उमेरमा फुटेको एभीएमको यस प्रविधिमार्फत सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो ।

दीर्घकालीन कलेजो रोगबाट समेत पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल शौचालय जाने क्रममा अचानक बेहोस भएपछि उनलाई तत्काल केएमसीको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । करिब तीन घण्टादेखि अचेत रहेका कँडेलको तत्काल सीटी स्क्यान गर्दा मस्तिष्कको असामान्य स्थानमा ठूलो रक्तस्राव (हेमाटोमा) देखिएको थियो ।

रक्तस्रावको वास्तविक कारण पहिचान गर्न अस्पतालको अत्याधुनिक 'बाइप्लेन क्याथल्याब'मा न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा डीएसए एन्जियोग्राफी गरियो । परीक्षणका क्रममा मस्तिष्कमा रगत पुर्‍याउने धमनी र रगत फर्काउने शिराबीच जन्मजात असामान्य रूपमा बनेको रक्तनलीको जालो अर्थात् 'ब्रेन एभीएम' फुटेर रक्तस्राव भएको पुष्टि भएको थियो । कँडेल पहिलेदेखि नै कलेजोको बिरामी भएकाले उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि सँगै संलग्न रहेको थियो ।

के हो एभीएम र कसरी गरियो बिनाचिरफार उपचार ?

चिकित्सकहरूका अनुसार एभीएम जन्मजात हुने रक्तनलीसम्बन्धी एक दुर्लभ विकृति हो । सामान्यतया यस्तो समस्या युवावस्थामै देखिने वा फुट्ने गर्छ, तर ६७ वर्षको उमेरमा एभीएम फुट्नु निकै दुर्लभ र उच्च जोखिमपूर्ण मानिन्छ । बिरामीको संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सकहरूले टाउको नखोली (बिनाचिरफार) तिघ्राको रक्तनलीबाट अत्यन्त सानो क्याथेटर मस्तिष्कसम्म पुर्‍याएर न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि तथा आवश्यक स्टेन्ट र बेलुनको प्रयोग गरी एभीएमलाई सुरक्षित रूपमा बन्द गर्न सफल भएका थिए ।

जटिल उपचारपछि हरिप्रसादको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । निको भएपछि बिरामी कँडेल र उनकी पत्नी सुजाता कँडेलले उपचारमा संलग्न चिकित्सक टोलीप्रति विशेष आभार व्यक्त गरेका छन् ।

चिकित्सकको सुझाव

केएमसीका न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलले मस्तिष्कको असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक वा उच्च रक्तचापको असर मात्र ठानेर बस्न नहुने बताए । यस्तो अवस्थामा एभीएम वा एन्युरिज्म जस्ता रक्तनलीका विकृतिहरू पत्ता लगाउन तत्काल डीएसए एन्जियोग्राफी सहितको मूल्याङ्कन आवश्यक हुने र समयमै सही उपचार पाए बिरामीको ज्यान जोगाउन सकिने उनको भनाइ छ । 

केन्द्रीय राजधानीमा अवस्थित केएमसी अस्पतालले पछिल्लो समय न्यूरो र मुटु रोगका क्षेत्रमा अत्याधुनिक प्रविधि भित्र्याएर जटिल उपचारहरू नेपालमै सम्भव बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट