काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ दरअनुसार साउनमा पनि अधिकांश बैंकको ब्याजदर घट्ने क्रम जारी रहेको छ ।
असारको तुलनामा केही बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
सबैभन्दा धेरै ब्याजदर कटौती गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशतले ब्याजदर घटाएको छ । ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले पनि व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर घटाएका छन् । यस्तै, कृषि विकास बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आंशिक रूपमा ब्याजदर कटौती गरेका छन् ।
यद्यपि नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया र प्राइम कमर्सियल बैंकसहित १२ बैंकले भने अघिल्लो महिनाकै ब्याजदर कायम राखेका छन् ।
नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याज दिने भएका छन् । त्यसैगरी कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा कम ३.८५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ भने नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको हो । अर्कोतर्फ प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत निक्षेपमा सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
लगातार घटिरहेको निक्षेप ब्याजदरले बचतकर्ताको प्रतिफलमा असर पर्ने देखिए पनि बैंकहरूमा पर्याप्त तरलता र कर्जाको सुस्त मागका कारण ब्याजदर घट्ने प्रवृत्ति अझै कायम रहेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस