विराटनगर । कोशी प्रदेश सरकारको भविष्य र सरकारमा नेपाली कांग्रेसको सहभागिताबारे निर्णय गर्न बसेको कांग्रेसको प्रदेशस्तरीय संयन्त्र बैठक कुनै ठोस निर्णयबिना सकिएको छ ।
बैठकका क्रममा केन्द्रीय नेतृत्वबाट आएको आकस्मिक निर्देशनपछि मन्त्रीहरूलाई तत्काल सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय स्थगित गरिएको हो ।
कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले अबको राजनीतिक रणनीति तय गर्न केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी नेता थापा र केन्द्रीय सदस्य तथा प्रदेश सांसद अमृत अर्याललाई दिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता थापाले नेकपा (एमाले)सँगको राजनीतिक सहकार्य समाप्त भएको स्पष्ट पारे । उनका अनुसार अब कांग्रेसले आगामी रणनीतिका लागि तीन सम्भावित विकल्पमाथि छलफल गरिरहेको छ ।
“एमालेसँगको सहकार्य समाप्त भइसकेको छ । अब एमालेसँग पुनः सहकार्य गर्ने, नेकपासँग नयाँ समीकरण निर्माण गर्ने वा सशक्त प्रतिपक्षमा बस्ने भन्ने तीन विकल्पमा छलफल भइरहेको छ,” थापाले भने ।
उनले बैठक चलिरहेकै बेला केन्द्रीय नेतृत्वबाट टेलिफोनमार्फत निर्देशन प्राप्त भएपछि मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने निर्णय रोकिएको जानकारी दिए । “केन्द्रका नेताहरूको निर्देशनपछि आज कुनै औपचारिक निर्णय गर्न सकिएन । अब केन्द्रीय समितिको निर्णय प्राप्त भएपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिनेछौं,“ उनले भने ।
बैठकमा कांग्रेस कोशी प्रदेशका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा तथा प्रदेश सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल र मैयाँ श्रेष्ठलगायत नेताहरूको सहभागिता रहेको थियो ।
हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।
केन्द्रीय समितिबाट अन्तिम निर्णय नआएसम्म कांग्रेसका यी मन्त्रीहरू वर्तमान सरकारमै यथावत् रहने भएका छन् । त्यसपछि मात्रै कोशी प्रदेश सरकारमा कांग्रेसको भूमिकाबारे औपचारिक निर्णय हुने जनाईएको छ
प्रतिक्रिया दिनुहोस