काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यससँगै सरकारले ल्याएको बजेट, आर्थिक ऐन, नीति तथा कार्यक्रम तथा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कार्यान्वयनमा आएका छन् ।
यस वर्ष व्यक्तिगत आयकरमा उल्लेखनीय राहत दिँदै १ प्रतिशत कर लाग्ने वार्षिक आयको सीमा ५ लाखबाट १० लाख रुपैयाँ पुर्याइएको छ भने अधिकतम आयकर दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ । सरकारी कर्मचारीको तलब पनि २१ प्रतिशतले बढेको छ ।
भन्सार दर ११ तहबाट ७ तहमा झारिएको छ भने २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ । ३६० वस्तुमा अन्तःशुल्क हटाइए पनि मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ र केही विलासी वस्तुमा कर बढाइएको छ ।
आजदेखि निजी विद्यालय र निजी स्वास्थ्य संस्थाको सेवामा ३/३ प्रतिशत शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू भएको छ । ५० युनिटभन्दा बढी घरायसी विद्युत् खपतमा ५ प्रतिशत भ्याट, राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क, पाँचतारे होटल तथा आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क र सुनचाँदीका गहनामा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क पनि लागू भएको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिअनुसार कर्जा विस्तार, बैंकिङ प्रणालीमा सहजता र आर्थिक गतिविधि बढाउने लक्ष्यसहित नयाँ व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस