काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै शेयर कारोबारबाट हुने नाफामा लाग्ने पुँजीगत लाभकर आजदेखि बढेको छ । सरकारले आर्थिक ऐन, २०८३ मार्फत शेयर बजारका लगानीकर्ताले तिर्नुपर्ने करको दरमा वृद्धि गरेसँगै यो नयाँ व्यवस्था आजैका मितिदेखि लागू भएको हो ।
नयाँ आर्थिक ऐनअनुसार अब शेयर खरिद गरेको एक वर्षभित्रै बिक्री गरी नाफा कमाउने अल्पकालीन लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ । त्यसैगरी, शेयर खरिद गरेर एक वर्षभन्दा बढी अवधि होल्ड गरी बिक्री गर्ने दीर्घकालीन लगानीकर्ताले हुने नाफामा ७.५ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि गत आर्थिक वर्षमा भने शेयर बजारमा निकै कम करको व्यवस्था थियो । साविकको व्यवस्थाअनुसार अल्पकालीन लाभमा ७.५ प्रतिशत र दीर्घकालीन लाभमा ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्दै आएको थियो । आजदेखि कार्यान्वयनमा आएको यो नयाँ कानुनी व्यवस्थासँगै शेयर कारोबारबाट हुने नाफामा करको दायरा थप फराकिलो बनेको छ ।
प्रतिक्रिया दिनुहोस