काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूसँग विशेष छलफल गर्ने भएका छन् ।
छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणा सहभागी हुनेछन् ।
बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, उत्पादन वृद्धि, आत्मनिर्भरताका प्रयास तथा उद्योगले भोगिरहेका विद्यमान चुनौतीबारे विस्तृत छलफल हुने कार्यसूची रहेको छ ।
साथै, उद्योगमैत्री वातावरण निर्माण, नीतिगत सुधार, स्वदेशी उत्पादनको संरक्षण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका विषयमा समेत प्रधानमन्त्रीसँग उद्योगीहरूले आफ्ना धारणा र सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेका बेला प्रधानमन्त्री र जुत्ता उत्पादकबीच हुन लागेको यो छलफललाई घरेलु जुत्ता उद्योगका समस्या समाधान र आवश्यक नीतिगत सुधारका दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस