२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

हिजो केसीको पक्षमा उभिएका नेताहरू आज सरकारमा : पुराना स्टाटस फेरि भाइरल

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बसेसँगै अहिले सामाजिक सञ्जालमा एउटा रोचक बहस सुरु भएको छ । विगतमा डा. केसीको मागको खुलेर समर्थन गर्दै सरकारको आलोचना गर्ने नेताहरू अहिले आफैं सरकारको नेतृत्वमा पुगेपछि उनीहरूको पुराना फेसबुक स्टाटस फेरि भाइरल बनेका छन् ।

यसपटक डा. केसीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज गर्न माग गर्दै शुक्रबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट आमरण अनसन सुरु गरेका छन् । तर, अनसनसँगै सामाजिक सञ्जालमा सरकारमा रहेका नेताहरूका विगतका अभिव्यक्तिहरू नै चर्चाको केन्द्र बनेका छन् ।
 
सबैभन्दा बढी चर्चामा अहिले शिक्षामन्त्री सस्मित पोखरेलको पुरानो फेसबुक स्टाटस छ । डा. केसीले आफ्नै फेसबुकमार्फत मन्त्री पोखरेलले सन् २०१७ मा लेखेको स्टाटस शेयर गर्दै अहिले आफ्ना माग पूरा गर्न आग्रह गरेका छन् ।

ad25b362-d903-4bb9-885e-3429d5afd2b9.jpg

त्यतिबेला केसीको १३औँ अनसनका क्रममा पोखरेलले लेखेका थिए, ‘अनसनको १०औँ दिन, नेपाल सरकारलाई मन्त्रिपरिषद्मा मन्त्री थप्न मतलब छ, तर नेपाली जनताको स्वास्थ्यसँग कुनै मतलब छैन । ’त्यही स्टाटस अहिले केसीले पुनः सार्वजनिक गर्दै सरकारलाई आफ्नो पुरानो प्रतिबद्धता सम्झाएका छन् ।

eda3eadf-6daa-41e1-8c92-27d5669d6c15.jpg

यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि सन् २०२० मा लेखेको फेसबुक स्टाटस पनि अहिले व्यापक रूपमा शेयर भइरहेको छ । त्यतिबेला उनले ‘लक्ष्मीप्रसाद देवकोटालाई जस्तै गरेर डा. गोविन्द केसीलाई पनि सकाउने हो ?’ भन्दै सरकारको आलोचना गरेका थिए ।

d92973b4-2f72-4bb3-a683-20309d23a21d.jpg

रास्वपाका नेता मिलन पाण्डेले पनि सन् २०१५ मा ‘डा. गोविन्द केसी मर्नुभन्दा पहिले मलाई मारिदेऊ’ भन्ने भावको स्टाटस लेख्दै केसीप्रति ऐक्यबद्धता जनाएका थिए । अहिले उनीहरूकै पार्टी सरकारमा रहेको अवस्थामा डा. केसी फेरि अनसनमा बसेपछि सरकारको कदम के हुन्छ भन्ने विषयमा सर्वत्र चासो बढेको छ ।

रास्वपाका सांसद राजीव खत्रीले भने डा. केसीको आन्दोलनप्रति असहमति जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिरामीको चिन्ता भए उपचार गर्नुस्, देशको चिन्ता भए चुनाव लड्नुस्, सिट बढाउने–घटाउने कुरा अब नगरिदिनुहोस् ।’

rajiv.jpg

खत्रीको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । धेरै प्रयोगकर्ताले ‘तपाईं सांसद नभई अझै पत्रकार नै भएको भए आज डा। केसीकै पक्षमा उभिनुहुन्थ्यो’ भन्दै टिप्पणी गरेका छन् ।
किन फेरि अनसनमा बसे डा. केसी ?

डा. केसीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति स्वार्थ बाझिने र निजी मेडिकल कलेजसँग निकट सम्बन्ध भएका व्यक्तिलाई गरिएको भन्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेका छन् ।

सरकारले गत असार ३१ गते प्रा।डा। सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिस्ट्रार नियुक्त गरेको थियो ।

जोशी यसअघि पनि विश्वविद्यालयको नेतृत्वमा थिए । बालेन्द्र शाह नेतृत्वकै सरकारले गत वैशाखमा अध्यादेशमार्फत उनलाई पदमुक्त गरेको थियो । तर कार्यविधि संशोधन नगरी पुनः उनैलाई उपकुलपति नियुक्त गरेपछि विवाद चर्किएको हो ।

54b909e0-84e4-4a2e-86a4-51374f34b917 (2).jpg

विश्वविद्यालयको कार्यविधिअनुसार चिकित्सा शिक्षासम्बन्धी विषयमा विद्यावारिधि, विश्वविद्यालयमा कम्तीमा १० वर्ष प्राध्यापन अनुभव तथा निश्चित उमेर सीमा अनिवार्य गरिएको छ । छनोट समितिका अनुसार उक्त मापदण्ड पूरा गर्ने उम्मेदवार जोशी मात्रै भएकाले पुनः उनी नै नियुक्त भएका थिए ।

रजिस्ट्रार नियुक्त भएका डा. भीमबहादुर चन्द यसअघि पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत तथा पछि काठमाडौं मेडिकल कलेज (केएमसी)सँग आबद्ध थिए । उनी निजी मेडिकल कलेजका सञ्चालकसँग निकट रहेको भन्दै डा.केसीले यस्तो नियुक्तिले स्वार्थको द्वन्द्व सिर्जना गर्ने आरोप लगाएका छन् ।

डा. केसीका मुख्य माग

  • दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा गरिएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्दै कानुनी व्यवस्था संशोधन गर्नुपर्ने ।
  • निजी मेडिकल कलेजमा छात्रवृत्ति कटौती तथा पूर्वाधारबिनै सिट बढाउने निर्णय र प्रस्ताव तत्काल रद्द गर्नुपर्ने।
    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने ।
  • सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा आत्मनिर्भर बनाउने पूर्वाधार विस्तार गर्नुपर्ने ।
  • विगतका हिंसात्मक घटनाका दोषी र उच्च पदस्थ व्यक्तिहरूमाथि भएका भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने।

डा. केसीको २४औँ सत्याग्रहसँगै अहिले एउटा पुरानो प्रश्न फेरि उठेको छ। विपक्षमा हुँदा डा। केसीका मागलाई सही ठान्ने नेताहरू सत्ता सम्हालेपछि पनि त्यही अडानमा उभिन्छन् कि उभिँदैनन् भन्ने आफुहरुलाई लागेको त्रिवी शिक्षण अस्पतालका एक स्वास्थ्यकमीृले भने । उनले भने–‘विपक्षमा हुँदा फेसबुक स्टाटस लेख्न सजिलो हुन्छ, तर सत्तामा पुगेपछि त्यही स्टाटसले ढोका ढकढक्याउन आइपुग्छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट