पर्सा - भारतीय मोबाइल सेवा प्रदायक कम्पनीहरुको सिग्नल बलियो पार्न प्रयोग गरिएका चार अवैध मोबाइल सिग्नल बुस्टरहरु पर्सा प्रहरीले जफत गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सूचनाका आधारमा र एनसेलको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साले बिरगञ्जको आदर्शनगर क्षेत्रबाट ती बुस्टरहरु नियन्त्रणमा लिएको हो।
यी सिग्नल बुस्टरहरुले भारतीय सेवा प्रदायक कम्पनीहरू—जस्तै एयरटेल र जियो—को नेटवर्क नेपाली भूमिमा सहज रूपमा चलाउन मद्दत गरिरहेका थिए। यस्ता उपकरणको प्रयोगले नेपाली मोबाइल सेवा प्रदायकहरुको भ्वाइस तथा डाटा सेवामा अवरोध पुर्याउनुका साथै आम्दानीमा गिरावट र सरकारको राजस्व चुहावटसमेत गराइरहेको थियो।
सीमावर्ती क्षेत्रहरूमा विदेशी नेटवर्कको पहुँच सजिलो बनाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एमप्लिफायरहरूको अवैध प्रयोग भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो। दूरसञ्चार प्राधिकरणले यस्ता उपकरण प्रयोग नगर्न तथा नगराउन गत महिना सार्वजनिक चेतावनीसमेत दिएको थियो।
प्रचलित रेडियो ऐन, २०१४ तथा दूरसञ्चार ऐन, २०५३ अनुसार नेपाल सरकारको अनुमति विना यस्ता सिग्नल बुस्टर तथा एमप्लिफायरहरूको प्रयोग गैरकानुनी मानिन्छ। अनुमति बिना सेवा संचालन गरेमा पाँच लाख रुपैयाँसम्म जरिमाना हुन सक्ने प्रावधान छ। साथै, बिना लाइसेन्स रेडियो उपकरण राख्न, बनाउन वा प्रयोग गर्नेलाई बिगो अनुसार जरिमाना गरिन सक्ने व्यवस्था छ।
नेपालका मोबाइल सेवा प्रदायक कम्पनीहरूको आकलनअनुसार पर्सा जिल्लाका सीमावर्ती क्षेत्रहरूमा अझै तीन दर्जनभन्दा बढी अवैध सिग्नल बुस्टरहरु सञ्चालनमा छन्। यस्ता उपकरणहरूको प्रयोगले विदेशी नेटवर्कमार्फत अपराधजन्य गतिविधिहरू हुने सम्भावना रहेको भन्दै सुरक्षा निकायहरू थप सतर्क बनेका छन्।
दूरसञ्चार प्राधिकरणले प्राधिकरणको अनुमति विना कसैले पनि यस्ता उपकरण नचलाउन पुनः चेतावनी दिएको छ। प्राधिकरणका अनुसार कानुनी प्रक्रिया पूरा गरी अस्पताल, मल, वा भिडभाड भएका स्थानहरूमा मात्र आवश्यकताको आधारमा सेवा प्रदायकले बुस्टर राख्न पाउने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस