पर्सा । वीरगंज महानगरमा लामो समयदेखि जारी खानेपानी संकटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।
खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्यांकर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगंज महानगरले ट्यांकर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।
वीरगंज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगंजमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा गरेका थिए । उनको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गरेका थिए । उनी नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ ।
वीरगंज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको संकट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न छन् । “चापाकलमा एक थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ ।”
नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताए ।
“खानेपानी संकट चापाकल वा बोरिङ गरेर हुँदैन”, उनले भने, “ओभरहेड ट्यांकी निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ । खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ । एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ ।”
महानगरप्रमुख सिंह मंगलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्यांकर लिएर पुगे । “नगरवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ”, उनले भने, “पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पुर्याउने गरी संयन्त्र बनाएका छौँ ।”
प्रतिक्रिया दिनुहोस