काठमाडौं । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।
यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर अझैं खुल्न सकेको छैन् । मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भाँसिएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ । वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा यातायात पूर्णरुपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । खुर्सानी खोलामा पटक–पटक सडक भासिदा सडक अवरुद्ध हुँदै आएको थियो ।
खहरे खोलाको लेदोको कारण अवरुद्ध भएको बीपी राजमार्ग भने सुचारु भएकोछ । रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चारसय बेशीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात दुईतर्फी नै सञ्चालनमा आएको छ ।
सडक विभाग, स्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुण्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस