काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संवाद र सहमतिको प्रक्रियालाई बुँदागत रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले कांग्रेसको संघर्षपूर्ण इतिहास स्मरण गर्दै वर्तमान नेतृत्व स्वार्थको द्वन्द्वमा फसेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भण्डारीले जनताको अधिकारका लागि कांग्रेसले चुकाएको बलिदान र त्यागको इतिहास सम्झाएका छन्। उनले मोतिराज भुसाल, टिकाराम धिमिरे, सम्सेरबहादुर खत्रीलगायतको योगदान उल्लेख गर्दै आफू पनि किशोरावस्थादेखि अधिकारको आन्दोलनमा सहभागी भएको बताएका छन्।
भण्डारीले विगतमा पार्टीभित्र उत्पन्न विवादहरू संवाद र सहमतिमार्फत समाधान गरिएका उदाहरण प्रस्तुत गर्दै अहिले पनि एकताको सम्भावना जीवित रहेको बताए। उनले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वर्तमान सभापति र उपसभापतिबीच निरन्तर संवाद भइरहेको तथा एकताको सातबुँदे प्रस्ताव औपचारिक रूपमा पठाइनु सकारात्मक संकेत भएको उल्लेख गरेका छन्।
उनका अनुसार अब सबै पक्ष एजेन्डामा केन्द्रित भएर पारदर्शी संवादमा जुट्नुपर्छ। “अब कुराकानी बुँदागत रूपमा हुनुपर्छ। के गर्ने, के नगर्ने भन्ने विषय कोठाभित्रै समाधान खोज्नुपर्छ,” उनले भनेका छन्।
भण्डारीले कांग्रेसले पठाएको सातबुँदे प्रस्तावमा विशेष महाधिवेशनसम्बन्धी विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्ने, क्रियाशील सदस्यता अद्यावधिक गर्ने, अग्रज नेताहरूलाई सम्मानजनक भूमिका दिने, केन्द्रीय समितिमा समावेशी जिम्मेवारी सुनिश्चित गर्ने तथा १५औँ महाधिवेशनका विभिन्न समितिहरूमा सहकार्य गर्ने प्रस्ताव समेटिएको उल्लेख गरेका छन्।
उनले वर्तमान अवस्थामा कांग्रेस मिले–नमिलेको विषय जनताको पहिलो चासो नहुन सक्ने तर पार्टीका शुभेच्छुक र लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएकाहरूका लागि यो महत्वपूर्ण विषय भएको बताएका छन्।
भण्डारीले अन्त्यमा विगतका कमजोरीप्रति नेपाली जनतासँग क्षमा याचना गर्दै न्याय, नैतिकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता दोहोर्याएका छन्। “हामी अपराधसँग सम्झौता गरेर इतिहासलाई अपमान गर्नेछैनौँ। हामी क्षमा माग्छौँ, तर अन्यायलाई क्षमा गर्दैनौँ,” उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस