लुम्बिनी / नेकपा (एमाले) को लुम्बिनी प्रदेशस्तरीय सुझाव सङ्कलन कार्यक्रममा पार्टी नेतृत्व, संगठनात्मक पुनर्गठन र पुस्तान्तरणको विषय प्रमुख बहसको केन्द्र बनेको छ ।
कार्यक्रममा सहभागी अधिकांश प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए कपिलवस्तुको चन्द्रौटामा बिहीबार आयोजित कार्यक्रममा प्रतिनिधिहरूले पार्टीको वर्तमान अवस्था, नेतृत्व शैली र भावी कार्यदिशाबारे खुला रूपमा धारणा राखेका थिए ।
सो क्रममा नेतृत्व परिवर्तनको पक्षमा आवाज बलियो देखिएको थियो । प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य भूमिश्वर ढकालले भने ओली नेतृत्वलाई निरन्तरता दिनुपर्ने मत सार्वजनिक गरेका छन्। ढकालले विगतको समग्र समीक्षा नगरी नेतृत्व परिवर्तनको बहस अघि बढाउनु उपयुक्त नहुने तर्क गरे । ढकाल केही समयअघि लुम्बिनी प्रदेश सरकारबाट हटाइएका चार मन्त्रीमध्ये एक हुन्। उनीसँगै सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्थी तथा स्वास्थ्यमन्त्री खेम सारुले पदबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस