काठमाडौ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले सडक, पुल तथा अन्य पूर्वाधार आयोजनामा बजेट कम विनियोजन गरिएको भन्ने आलोचनाको जवाफ दिँदै सरकारले बहुवर्षीय बजेट प्रणालीमार्फत निर्माण प्रक्रियालाई तीव्र बनाउन खोजेको बताएका छन्।
उनले बजेट साना–साना आयोजनामा छरिएको जस्तो देखिए पनि आगामी तीन वर्षका लागि एकीकृत योजना बनाइएकाले चालू वर्षमै करिब १० खर्ब रुपैयाँ बराबरका ठेक्का प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको स्पष्ट पारे।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत रूपमा अघि बढाउँदा ठेक्का प्रक्रियामा लाग्ने समय उल्लेखनीय रूपमा घट्ने बताए। उनका अनुसार छुट्टाछुट्टै वर्षमा ठेक्का आह्वान गर्दा तीन वर्षसम्म लाग्न सक्ने प्रक्रिया एउटै चरणमा सम्पन्न गर्दा ६ देखि ७ महिनामै सीमित गर्न सकिन्छ।
उनले पूर्वतयारीका काम, स्वीकृति प्रक्रिया तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का कारण ठेक्का आह्वानमा ढिलाइ हुने गरेको उल्लेख गर्दै बहुवर्षीय मोडेलले त्यस्ता समस्या न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे। यसबाट निर्माण कार्यका लागि थप १२ देखि १४ महिनासम्म समय उपलब्ध हुने र आयोजना कार्यान्वयनको गति बढ्ने उनको भनाइ थियो।
मन्त्री लम्सालका अनुसार सरकारले आगामी तीन वर्षलाई लक्षित गर्दै समान प्रकृतिका धेरै आयोजनालाई एउटै ढाँचामा समेटेकाले बजेट धेरै आयोजनामा सानो–सानो रकम बाँडिएको जस्तो देखिएको हो। तर यसको उद्देश्य स्रोत छर्ने नभई योजना कार्यान्वयनलाई व्यवस्थित र द्रुत बनाउनु रहेको उनले बताए।
नदीजन्य सामग्री निकाल्नु पर्छ
नदीजन्य क्षेत्रमा लामो समयदेखि थुप्रिएको नदीजन्य पदार्थ विधी बनाएर उत्खनन् गर्नुपर्ने बताएका छन् । नदीमा धेरै मात्रामा सामग्री थुपारीदा त्यसले तराइ लगायतका क्षेत्रमा डुबानमा परेको भन्दै मन्त्री लम्साले किसानहरुको खेतबारीमा समेत समस्या परेकाले अब कार्यविधी बनाएर नदीबाट सामग्री उत्खनन् गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस