मन्त्री पुनले वर्तमान सरकारसँग काम गर्ने जोश र जाँगर भए पनि देशको अर्थतन्त्र छोटो समयमै सुधार गर्न सम्भव नरहेको बताए ।
काठमाडौं / विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुन ले नेपालको अर्थतन्त्र सुधार हुन अझै कम्तीमा १५ वर्ष लाग्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले वर्तमान सरकारसँग काम गर्ने जोश र जाँगर भए पनि देशको अर्थतन्त्र छोटो समयमै सुधार गर्न सम्भव नरहेको बताए ।
उनले भने, ‘नेपालको अर्थतन्त्र छिट्टै सुधार हुँदैन, कम्तीमा १५ वर्ष लाग्न सक्छ। अहिलेको सरकारले प्रयास गरिरहेको छ, तर अर्थतन्त्रमा देखिएका संरचनागत समस्याको समाधान गर्न समय आवश्यक पर्छ । ’
सांसदहरूले विभिन्न क्षेत्रका माग र योजनाबारे ध्यानाकर्षण गराएको उल्लेख गर्दै मन्त्री पुनले वर्तमान आर्थिक अवस्थालाई हेर्दा ती सबै माग तत्काल पूरा गर्न कठिन हुने बताए। ‘माननीयज्यूहरूले धेरै माग राख्नुभएको छ, तर अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा ती मागहरू पूरा हुन अझै १५ वर्ष लाग्न सक्छ। मेरो आफ्नै केही सपना र माग पनि त्यही समयमा पूरा होलान्,’ उनले भने।
विदेश पलायन भइरहेका युवालाई रोक्ने उद्देश्यसहित विज्ञान तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरिएको उल्लेख गर्दै मन्त्री पुनले सबै युवालाई स्वदेशमै रोक्न सम्भव नहुने स्पष्ट पारे। उनका अनुसार मन्त्रालयले नवप्रवर्तन, उद्यमशीलता र रोजगारी सिर्जनामार्फत युवालाई अवसर प्रदान गर्ने प्रयास गरिरहेको छ।
‘हामीले एउटा जालो फ्याँकेका छौं, अब त्यसमा कति माछा पर्छ हेर्न बाँकी छ,’ उनले रूपकात्मक शैलीमा भने ।
मन्त्री पुनले सबै व्यक्ति उद्यमी वा उद्योगी बन्न नसक्ने पनि बताए। उद्यमशीलताका लागि मेहनत, सीप, लगनशीलता र दृढ इच्छाशक्ति आवश्यक पर्ने उनको भनाइ थियो। उनले युवालाई नयाँ सोच, प्रविधि र नवप्रवर्तनतर्फ आकर्षित गर्न सरकार विभिन्न कार्यक्रममार्फत काम गरिरहेको जानकारी दिए।
उनले दीर्घकालीन आर्थिक सुधारका लागि उत्पादन वृद्धि, प्रविधिको प्रयोग, अनुसन्धान तथा नवप्रवर्तनमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। मन्त्री पुनले आइटीसम्बन्धी कामहरु प्रधानमन्त्री मातहात ल्याएकोमा गुनासो समेत गरे ।‘प्रधानमन्त्रीले आईटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ । र उहाँले यो मात्रै गर्ने होइन । हामी सबैले मिलेर गर्नुपर्ने हो,’ मन्त्री पुनले भने ।
प्रतिक्रिया दिनुहोस