२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

व्यवसायीलाई राज्य र समाज दुवैले सम्मान गर्नुपर्छ, सधैं शंकाको दृष्टिले हेर्ने प्रवृत्ति बदलिनुपर्छ : बलराम सापकोटा

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । होटल, पर्यटन तथा क्यासिनो व्यवसायी बलराम सापकोटाले नेपालमा व्यवसायीलाई सधैं शंकाको दृष्टिले हेर्ने प्रवृत्तिका कारण लगानी र उद्यमशीलता प्रभावित भएको बताएका छन्। 

सुनौलो नेपालको विशेष कार्यक्रम ‘समृद्धिको मार्ग के ?’ मा बोल्दै उनले व्यवसायीलाई राज्य र समाज दुवैले सम्मान गर्नुपर्ने धारणा राखेका हुन्।

सापकोटाले नेपालमा उद्योग, व्यापार र लगानी गर्ने व्यक्तिलाई प्रायः दोषीका रूपमा चित्रण गरिने गरेको भन्दै यसले निजी क्षेत्रको मनोबल कमजोर बनाएको बताए। “व्यापारीले कर तिर्छ, रोजगारी सिर्जना गर्छ र अर्थतन्त्र चलाउन योगदान दिन्छ। तर नेपालमा सफल व्यवसायीलाई सम्मान होइन, शंकाको दृष्टिले हेरिन्छ,” उनले भने।

उनका अनुसार व्यवसायीले बैंकको ऋण लिएर, जोखिम मोलेर र हजारौं मानिसलाई रोजगारी दिएर व्यवसाय सञ्चालन गरिरहेका हुन्छन्। तर नीतिगत अस्थिरता, प्रशासनिक झन्झट र अनावश्यक निगरानीले व्यवसायीहरू निरन्तर दबाबमा रहेको उनको भनाइ छ।

bybassayi balaram sapkota .jpg

सापकोटाले नेपालमा व्यवसाय सञ्चालन गर्दा कानुनी जटिलता र सरकारी निकायहरूको व्यवहार पनि चुनौतीपूर्ण रहेको बताए। “एउटा कामका लागि धेरै कार्यालय धाउनुपर्छ, निर्णय प्रक्रिया ढिलो छ र व्यवसायीलाई विश्वास गर्ने वातावरण अझै बनेको छैन,” उनले भने।

पर्यटन क्षेत्रको सम्भावना उल्लेख गर्दै उनले नेपालले अन्तर्राष्ट्रिय स्तरका होटल, क्यासिनो र पर्यटन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए। विशेषगरी पूर्वी नेपालमा पर्यटन र मनोरञ्जन उद्योगको ठूलो सम्भावना रहेको उनको दाबी छ।

क्यासिनो उद्योगबारे बोल्दै उनले नेपालमा अझै पनि क्यासिनोलाई नकारात्मक दृष्टिले हेरिने गरेको बताए। विकसित मुलुकहरूमा क्यासिनो पर्यटनको महत्वपूर्ण हिस्सा भए पनि नेपालमा यसलाई सही ढंगले बुझ्न नसकिएको उनको टिप्पणी थियो। “क्यासिनो भनेको केवल जुवा खेलाउने ठाउँ मात्र होइन, यो पर्यटन, रोजगारी र विदेशी मुद्रा आर्जनसँग जोडिएको क्षेत्र हो,” उनले भने।

Screenshot 2026-06-18 153232.jpg

सापकोटाले सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा लिएर लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए। व्यवसायीमाथि अविश्वास गर्ने प्रवृत्ति अन्त्य गर्दै नीति, प्रक्रिया र कानुनी संरचनालाई सरल बनाउन सके नेपालमा लगानी बढ्ने र आर्थिक समृद्धिको आधार बलियो हुने उनको विश्वास छ।

उनले राज्यले करदाताको सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने पनि बताए। “जसले कर तिरेर देशको अर्थतन्त्र चलाइरहेको छ, उसलाई प्रोत्साहन गर्नुपर्छ। निजी क्षेत्र बलियो भए मात्र रोजगारी बढ्छ र देशको आर्थिक विकास सम्भव हुन्छ,” सापकोटाको भनाइ छ।

सापकोटाले अन्त्यमा नेपालमा आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्र, सरकार र नागरिक समाजबीच विश्वास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीलाई शत्रु नभई विकासका साझेदारका रूपमा हेर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट