२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा प्रथम महाधिवेशन

चितवनबाट नयाँ यात्राको थालनी गर्दै रास्वपा : ३ हजार ९१८ प्रतिनिधिसहित पहिलो महाधिवेशन आजदेखि

आइतवार , आषाढ ७, २०८३

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आजदेखि आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमा प्रवेश गर्दैछ। पार्टी स्थापना भएको करिब चार वर्षपछि हुन लागेको महाधिवेशनलाई रास्वपाले संगठन विस्तार, नेतृत्व पुनर्संरचना र आगामी राजनीतिक मार्गचित्र तय गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेको छ ।

भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुने महाधिवेशनमा देशभर तथा विदेशस्थित सम्पर्क समितिबाट छनोट भएका तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनिष झाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार प्रतिनिधि व्यवस्थापन, आवास, यातायात, सुरक्षा, स्वयंसेवक परिचालन तथा महाधिवेशनस्थलको तयारी सम्पन्न भइसकेको छ।

रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको थियो। राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदन तयार भइसकेका छन् भने केन्द्रीय समितिले महाधिवेशनमा प्रस्तुत गरिने संशोधित विधानसमेत अनुमोदन गरिसकेको छ।

महाधिवेशनअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन प्रस्ताव गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनमा लैजाने निर्णय गरिएको छ। प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाउने व्यवस्था पनि संशोधित विधानमा समेटिएको छ।

नयाँ व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहनेछन्। पदाधिकारी तहमा महिला सहभागिता सुनिश्चित गर्न उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था प्रस्ताव गरिएको छ।

संशोधित विधानले पार्टी सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार दिने व्यवस्था पनि गरेको छ। खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् भने मनोनयन समावेशिताको आधारमा गरिने जनाइएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने प्रावधान पनि प्रस्तावमा समेटिएको छ।

रास्वपाले महाधिवेशनलाई संगठन सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक रणनीति निर्माणको थलोका रूपमा अघि सारेको छ। विधान संशोधन, नीतिगत प्रस्ताव र समसामयिक राजनीतिक विषयहरूमा व्यापक छलफल महाधिवेशनका मुख्य एजेन्डा रहने पार्टीले जनाएको छ।

सचिवालय सदस्य हरि ढकालका अनुसार पार्टीले हालसम्म ६१० पालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक प्रक्रिया पूरा भइसकेको छ। छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट सम्पन्न भएको छ भने मधेस प्रदेश र बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

रास्वपाले सदस्य संख्या पाँच लाख पुगेको दाबी गर्दै पहिलो महाधिवेशनलाई पार्टीको संस्थागत विकास र राष्ट्रिय राजनीतिको नयाँ अध्यायको आधारशिला बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ