काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनमा उद्घाटन हुँदै गर्दा कार्यक्रम स्थलको सुरक्षा व्यवस्थापन कडा बनाइएको छ।
चितवनस्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चउरमा हुने उद्घाटन समारोहलाई लक्षित गर्दै सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन्।
सुरक्षा व्यवस्थापनको समग्र अनुगमनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू खटिएका छन्। नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्र प्रहरीका एआईजी गणेश ठाडामगरले महाधिवेशन अवधिभर सुरक्षा व्यवस्थापनको मनिटर गर्ने जिम्मेवारी पाएका छन्।
प्रहरी प्रवक्ता डीआईजी उमानारायण काफ्लेले जिल्ला सुरक्षा समितिले तयार पारेको योजना अनुसार सुरक्षा परिचालन गरिएको बताएका छन्।
यसअघि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की पनि महाधिवेशन स्थल पुगेर समग्र सुरक्षा व्यवस्थापनको अवस्था बुझेर फर्किएको जनाइएको छ। सुरक्षा निकायहरूले महाधिवेशनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस