काठमाडौं । साविक उपविजेता फ्रान्स जारी फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फियामा सम्पन्न समूह चरणको रोमाञ्चक खेलमा इराकलाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फ्रान्सलाई सानदार जित दिलाउन स्टार स्ट्राइकर किलियन एम्बाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोलको योगदान दिए ।
खेलको १४औँ मिनेटमा नै किलियन एम्बाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको समाप्तिपछि फिलाडेल्फियामा भारी वर्षा भएपछि खेल करिब दुई घण्टासम्म रोकिएको थियो।
वर्षा रोकिएर खेल पुनः सुरु भएपछि पनि फ्रान्सले आफ्नो दबाब कायम राख्यो । खेलको ५४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ६६औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको ३–० को जित सुनिश्चित गरे । खेलभर फ्रान्सले बल पोजेसन र आक्रमण दुवैमा इराकलाई पूर्ण दबाबमा राखेको थियो ।
लगातार दोस्रो जितसँगै फ्रान्सले २ खेलबाट स्पष्ट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ र नकआउट चरणको यात्रा तय गरेको छ । यसै समूहमा रहेको नर्वे १ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ भने सेनेगल र इराक अंकविहीन रहँदै तालिकाको पुछारमा छन् ।
प्रतिक्रिया दिनुहोस