चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत प्रतिनिधि विवाद र परिचयपत्र छपाइमा देखिएको प्राविधिक समस्या समाधान भएपछि बन्दसत्र आज बिहानदेखि सुरु हुने भएको छ ।
सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने तय भएको बन्दसत्र महाधिवेशन प्रतिनिधिको नामावली रुजु तथा परिचयपत्र छपाइ कार्य समयमै सम्पन्न हुन नसक्दा एक दिनका लागि स्थगित गरिएको थियो । आज बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिएपछि बन्दसत्र सञ्चालन गरिने पार्टीले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको विवरण प्रमाणीकरण तथा परिचयपत्र छपाइमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र सार्नुपरेको बताए। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले प्रतिनिधिसम्बन्धी कुनै विवाद नआओस् भन्ने उद्देश्यले आवश्यक प्रक्रिया पूरा गरेर मात्र बन्दसत्र सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।
पार्टीका अनुसार सोमबार साँझदेखि नै कार्ड वितरण सुरु गरिएको थियो भने रातभर छापिएका परिचयपत्रहरू आज बिहान प्रदेशगत रूपमा वितरण गरिनेछ । सातै प्रदेश, समायोजन तथा प्रवासका प्रतिनिधिका लागि छुट्टाछुट्टै वितरण केन्द्रको व्यवस्था गरिएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेस गर्नेछिन् । दुवै प्रतिवेदनमाथि प्रतिनिधिहरूले छलफल गर्ने कार्यक्रम छ ।
त्यसपछि महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीमार्फत संशोधित विधानमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढाइनेछ । विधान पारित भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
राजनीतिक प्रतिवेदन अनुमोदनपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यतालिका रहेको छ। त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम र कार्यतालिका सार्वजनिक गर्नेछ ।
रास्वपाका अनुसार आज केन्द्रीय सदस्य पदका लागि मात्रै निर्वाचन प्रक्रिया अघि बढाइनेछ । प्रतिवेदनहरू पारित भएसँगै नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस