काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४आजदेखि सुरु भएसँगै सरकारले बजेट तथा आर्थिक ऐनमार्फत गरेका विभिन्न कर र नीतिगत व्यवस्था कार्यान्वयनमा आएका छन्। नयाँ व्यवस्थाअनुसार केही वस्तु तथा सेवा महँगा हुने भएका छन् भने केही क्षेत्रमा कर छुट तथा राहत दिइएको छ।
सरकारले आन्तरिक राजस्व बढाउने उद्देश्यले यसअघि कर छुट दिइएका केही वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लगाएको छ।
५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्ताले अब ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ। व्यावसायिक विद्युत् उपभोक्ताका लागि भने १३ प्रतिशत भ्याट यथावत् राखिएको छ।
पठाओ, इनड्राइभर, याङ्गो लगायतका राइड शेयरिङ सेवामा पनि ५ प्रतिशत भ्याट लागू भएको छ।
निजी शैक्षिक संस्थाको शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाका सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू गरिएको छ। यसले निजी शिक्षा र स्वास्थ्य सेवा महँगो हुन सक्नेछ।
त्यस्तै, पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क लागू भएको छ। सुन–चाँदी तथा गरगहना खरिदमा ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लगाइएको छ।
मिनी क्यासिनोको वार्षिक रोयल्टीसमेत १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ।
यी क्षेत्रमा राहत र कर छुट
सरकारले व्यक्तिगत आयकरतर्फ १ प्रतिशत कर लाग्ने वार्षिक आयको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ। अधिकतम व्यक्तिगत आयकर दरसमेत ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको छ।
भन्सार प्रणालीमा सुधार गर्दै ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ। २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ।
अन्तःशुल्कतर्फ ३६० वस्तुबाट अन्तःशुल्क हटाइएको छ। यसले सम्बन्धित वस्तुको लागत घट्न सक्ने अपेक्षा गरिएको छ। यद्यपि मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फुड, जुस तथा केही विलासी वस्तुमा अन्तःशुल्क बढाइएको छ।
सरकारले एकीकृत हरित कर लागू गर्ने तथा २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
यसरी नयाँ आर्थिक वर्षसँगै विद्युत्, राइड शेयरिङ, निजी शिक्षा, निजी स्वास्थ्य सेवा, लक्जरी होटल, आयातित मदिरा तथा सुन–चाँदीका गरगहनामा कर थपिँदा मूल्य बढ्न सक्नेछ भने व्यक्तिगत आयकर, औद्योगिक कच्चा पदार्थ र केही वस्तुमा कर छुट तथा दर घटाइँदा राहत मिल्नेछ।
प्रतिक्रिया दिनुहोस