२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

नाग्म-गमगडी सडक कालोपत्र गर्न माग

बिहिवार , कार्तिक २२, २०८१

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुपर्न माग गरिएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यहाँसम्म पुग्ने पर्यटकलाई यात्रा गर्न सास्ती भइरहेकाले तत्काल कालोपत्र गरेर यात्रा सहज र सुरक्षित बनाउन सङ्घीय सरकारसँग माग गरिएको बताए । बुधबार बसेको पालिकास्तरीय सर्वपक्षीय बैठकले नाग्म–गमगडी सडकको सुरुको बिन्दुबाट कालोपत्रको काम अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

“उक्त खण्डको बीच भागमा कालोपत्र गरिएको छ । सुरुको विन्दुमा खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य भइरहेकाले तत्काल कालोपत्र सुरु गर्न मागसहित अनुरोध गर्ने निर्णय गरेका छौँ”, अध्यक्ष शाहीले भने । सुरुबाट कालोपत्र हुनुपर्नेमा बीचमा केही किलोमिटर मात्रै कालोपत्र गरिएकाले थप समस्या भइरहेको उनले बताए ।

अध्यक्ष शाहीले भने, “नाग्मबाट गमगडीसम्मको ९३ किलोमिटरमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पर्यटकलाई उक्त सडक भएर आवतजावत गर्न सास्ती भइरहेको छ । सो सडकका केही भागमा खाल्डाखुल्डी हुँदा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता रहेको जनगुनासो आइरहेका छन् ।”

पालिकाभित्रका विभिन्न राजनीतिक दलहरुको साँझा बैठक आह्वान गरेर नाग्म–गडी सडक कालोपत्र गराउन राज्यसँग पहल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए । “सडक डिभिजन कार्यालयलाई कालोपत्र सुरुको विन्दुबाट गर्न माग गर्दछौँ । सङ्घ र प्रदेश सरकारलाई बजेट व्यवस्थापनको लागि आग्रह गरेका छौँ”, उनले भने ।

सडकमार्ग हुँदै राराताल आउने, जाने पर्यटकको यात्रा सहज र सुरक्षित बनाउन राज्यको ध्यान जान नसकेको भन्दै तत्काल सडक सुधार गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय नेता अम्मराज शाहीले बताए ।

“विसं २०६९ देखि सञ्चालनमा आएको यो सडकमा हालसम्म छ किलोमिटर सडकको बीचको खण्डमा मात्रै कालोपत्र भएको छ । तत्काल सुरुको विन्दुबाट कालोपत्र गरी आवागमन सहज बनाउन सबैले समन्वय र सहयोग गर्नु आवश्यक छ”, उनले भने ।

सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण कालोपत्र गर्न कठिन भइरहेको जनाएको छ । सर्वपक्षीय बैठकले सडक कालोपत्रका साथै सामाजिक कुरीति र कुसंस्कार विरुद्ध एैक्यबद्धता जनाउने निर्णय गरेको गाउँपालिका कार्यालयले जनाएको छ । विसं २०७९ मा आएको बेमौसमी बाढीले राजमार्गमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट