२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

"फिरन्ते जीवनबाट फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली"

शुक्रवार , आषाढ १३, २०८२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो ।

घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको प्रयोगबाट उद्यमी बन्नुभएकी ४० वर्षीया सुन्तली वनकरियाको हाल एकतले पक्की घर छ । उनका दुई छोरा विद्यालय जान्छन् भने उनी पनि दिनभर साबुन बनाउनमा व्यस्त हुन्छिन् ।

प्राकृतिक स्रोत महिला अधिकार समूह मनहरी–४ की अध्यक्षसमेत रहेकी उनलाई उद्यमी बन्न ग्रिन फाउन्डेसन नेपाल नामक संस्थाले सिकाएको बताछिन् ।उनी भन्छन्, “पहिला बोल्नसमेत डर लाग्थ्यो, आजकल आफ्नो उत्पादनको विज्ञापन गर्न सक्ने भएकी छु”, उनी थप्छिन्, “साबुन बनाउने तालिममात्र होइन कतिमा उत्पादन गर्ने, अनि कतिमा बिक्री गर्ने र कसरी प्रचार गर्नेसमेत तालिम दिएकाले सक्षम भएकी हुँ ।” उनको समूहमा २१ जनाले साबुन उत्पादन गरिरहेका छन् । आम्दानीसँगै जीवनशैली परिवर्तन भएको बताउँदै उनी अहिले वनको कन्दमूल रहरले खाने गरेको बताउछिन् ।

त्यसैगरी ७० वर्षीय हस्तबहादुर वनकरिया हाल खेतीबाट छ महिना खान पाउने र बाँकी समय अन्य कामसँगै साबुन व्यापारले राम्रो भएको बताउछिन् । कन्दमूल खोज्ने र माछा मारेर जीवन धान्ने गरेका उनी करिब २० वर्ष अगाडिबाट बस्तीमा बस्न थालेकी हुन् । अहिले खेतीपाती पनि गर्दैआएकी छन् । त्यसैगरी माया वनकरिया पनि खेतीसँगै साबुन उत्पादनमा लागेको बताउछिन् । साबुन उत्पादनले उनलाई जीवन धान्न सजिलो बनाइ दिएको छ ।

बस्तीका महिलाले खोला किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जीवनयापन भएका उक्त जातिका लागि मसिने शान्ति सामुदायिक वन बफर्जुन क्षेत्रमा परिणत भएसँगै खेर गइरहेका तीतेपातीको प्रयोग गरेर उद्यमी बन्न प्रेरित भएका हुन् ।

उद्यम विकासले आम्दानी भए पनि यथावत समस्या

सन्तोषी वनकरियाले यो जाति भूमि पूजक भएर पनि जग्गाधनीपुर्जा नपाएकामा दुःख व्यक्त गर्दै सरकारले भूमिहीन बनाउन नमिल्ने बताउछिन् । विसं २०६२ मा २० वर्षका लागि दिइएको कागजको समय २०८२ वैशाखमा सकिएको छ । हाल समय सकिएको जग्गामा बसिरहेको र उक्त जग्गामा अधिकार नभएको उनको भनाइ छ । उनी भन्छिन्, “मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ, जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौँ न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ, व्यवसाय दर्ता गर्न नै नपाएपछि तीन महिना काम रोकियो, वडाध्यक्षले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण बनाइदिनुभयो, सधैँ हामी यसरी नै कतिञ्जेल चल्ने ?” उनलाई हाल चिन्ता भनेको जग्गामाथिको स्वामित्वमा रहेको छ ।

त्यसैगरी, स्थानीय संगिता वनकरियाले आफ्नो समुदायका लागि भत्ता होइन, रोजगारी चाहिएको बताइन् । लालपुर्जा र रोजगारी भए सरकारले दिएको भत्ताभन्दा बढी हुने उनले भनाई छ। उनी भन्छिन्, “सरकारले वनकरियाका बालबालिकालाई १ देखि १० कक्षासम्म निःशुल्क पढाइदिएको बताउँछिन् । तर हाम्रो बालबालिकाको महिनैपिच्छे हामीले फि बुझाइरहेका छौँ । यसका लागि हामीले कसलाई भन्नुपर्ने हो ?” उनले राज्यले दिने भनेको निःशुल्क शिक्षासमेत नपाएकामा दुःख व्यक्त गरिन् । उनलाई पनि सन्तोषीलाई जस्तै जग्गाको चिन्ता छ ।

वनकरिया जाति मकवानपुरमा मात्र बसोबास गर्ने लोपोन्मुख जाति हो । वनकरियाहरू मनहरी गाउँपालिका–४ ट्वाङ्ग्रा खोला नजिकै सानो बस्तीमा केही दशकअघिदेखि मात्र घर बनाएर बस्न थालेका हुन् । त्यो बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जङ्गलमा बस्थे भने हाल २१ घरधुरीमा ८३ जनाको सङ्ख्यामा वनकरिया रहेको छ । केही दशक अघिसम्म चुरे जङ्गलमै बसेर कन्दमूल खोजेर, माछा मारेर र वन्यजन्तुको सिकार गरेर जीविका चलाउने वनकरियाहरूको जीवनशैली फेरिएको छ ।

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक चार हजार सामाजिक सुरक्षाभत्ता थालेपछि यिनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालदेखि यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

नेपालका लोपोन्मुख १० जातिमध्ये ‘वनकरिया’ एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशकअघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका मानिस अहिले मकवानपुर मनहरि–४ वनकरिया बस्तीमा बस्छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट