२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन् : आफ्नो भूमिकाको ज्ञान भयो

बुधवार , आषाढ २५, २०८२

कैलाली । टीकापुर नगरपालिकाका महिला जनप्रतिनिधिले पालिकाका साथै विभिन्न सरकारी एवं गैरसरकारी निकायबाट प्रशिक्षण पाएपछि आफूहरूलाई स्थानीय जनप्रतिनिधिका काम, कर्तव्य र अधिकारबारे अवगत भएको बताएका छन् ।

बेलाबेलामा प्राप्त हुने प्रशिक्षणबाट आफूहरूले आर्थिक, राजस्व, वन वातावरण र शिक्षा समितिका काम, कर्तव्य र भूमिकाबारे सिक्ने अवसर पाएको उनीहरूको कथन छ ।

प्रशिक्षाणले कार्यपालिकाको बैठकमा आफूहरूलाई विचार व्यक्त गर्न सहज भएको अनुभव उनीहरू बताउँछन् । तालिम र अवसर नपाउँदा विगतमा कुरा राख्न सक्ने क्षमता नभएको उनीहरूको भनाइ छ । “तालिम र अध्ययनपछि कार्यपालिका बैठकमा हामीलाई बेवास्ता गर्ने अवस्था छैन”, टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रुपमति डगौराले भनिन्, “कुरा कम सुनिए पनि क्षमता विकास भएको छ । हामीले आफ्नो अधिकार र कर्तव्य बुझेका छौँ ।”

रुपमतिमात्र होइन कार्यपालिकाका अन्य महिला सदस्यले पनि यस्तै महसुस गरेको बताएका छन् । कार्यपालिकाको बैठकमा मात्र होइन समुदायमा पनि अधिकार र कर्तव्यका बारेमा उनीहरूले विचार राख्न थालेका छन् । “हामी हरेक अधिकारबारे सचेत भएका छौँ, महिलाका समस्या अझ राम्ररी बुझेका छौँ”, अर्की कार्यपालिका सदस्य लवरी चौधरीले भनिन्, “हामी लैङ्गिक हिंसा न्यूनीकरणका सवालमा पालिका होस् या समुदायमा गम्भीर भएर काम गरिरहेका छौँ ।”

महिला सदस्यहरूले पालिकाको न्यायिक व्यवस्थालाई बुझेर सामाजिक विवादको निरुपण मेलमिलाप केन्द्रबाट गर्न सुझाउने गरेका छन् । यसरी क्षमता विकास भएपछि देखिएको परिवर्तनलाई समाजले पनि स्वीकार गर्न थालेको छ । त्यसैले वडामा पालिकाले प्रदान गर्ने सेवा र व्यवस्थाका बारेमा कुरा बुझ्न समुदायका नागरिक घरमै आउने गरेको उनीहरू बताउँछन् ।

कार्यपालिका सदस्य सरस्वती तिरुवा जनप्रतिनिधि हुनुअघि गृहणीको भूमिकामा थिइन् । उनले भने, “२०७९ मा निर्वाचन जितेपछि सुरुमा आफ्नो परिचय दिन संकोच हुन्थ्यो विभिन्न समयमा प्राप्त क्षमता विकास तालिमले त्यो संकोच हटाएको छ ।”

कार्यपालिका सदस्य रुपमति डगौराको यो दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा वडा सदस्यमात्र रहेकी रुपमति अहिले कार्यपालिका सदस्य भएर काम गरिरहेकी छन् । “अघिल्लो कार्यकालमा खासै क्षमता विकास भएको थिएन”, उनले भने, “यसपटक जनजाति महिलालाई पनि क्षमता विकास चाहिन्छ भनेपछि हामीले पनि तालिमको अवसर पायौँ ।”

अर्की कार्यपालिका सदस्य राजारानी चौधरी पालिकामा दिइएका तालिमले आफ्नो क्षमता विकास भएको बताउछिन् । समस्या पहिचान गरी सम्बन्धित ठाउँमा आवाज उठाउन आफू सक्षम भएको उनी बताउछन् ।

वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरी दलित, जनजाति जनप्रतिनिधि महिला सक्षम बन्दै गएको ठान्छन् । “ उनीहरू नियम कानुनबारे जानकार छन् । अब अध्ययन तथा सम्बन्धित विषयमा जानकारी लिन थालेका छन्”, उनले भने, “उनीहरूको हरेक कार्यमा सहभागिता वृद्धि भएको छ । कार्यपालिका बैठक, कार्यक्रम, नगरसभामा सहभागीमात्र होइन, छलफलमा पनि भाग लिन्छन् र सबैका अधिकारबारे आवाज उठाउन थालेका छन् ।”

–––

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट