पर्सा । वीरगंज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजंग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्यांकरमार्फत वितरण गर्दै आइरहेको छ ।
मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्यांकरबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्यांकरमार्फत औषतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए ।
‘‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौँं,’’ उनले भने,‘‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’’
वीरगंज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र संकटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगंज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्यांकरबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्यांकरबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताए । ‘‘वीरगंज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै दिनरात नभनिकन फोन गर्नुहुन्छ । हामीले आवश्यकताको आधारमा ट्यांकरबाट पानी वितरण गर्दै आइरहेका छौंँ ।’’
गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्यांकरमार्फत वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ ।
नेपाली सेनाले वीरगंज महानगर–१ छपकैया, वीरगंज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडी, वीरगंज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगंज महानगर १४ बहुअरीचोक, वीरगंज महानगर १५ भिष्वा, राधेराधे कलोनी, वीरगंज महानगर २४ रामगढवा, महानगर २६ सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्यांकरबाट पानी वितरण हुँदै आइरहेको छ ।
त्यस्तै गरी पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आइरहेको छ । पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्यांकरबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस