२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र धादिङको चरौंँदीमा विद्युतीय उपकरण (इलेक्ट्रिक डिभाइस) जडान गरेको छ ।

बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको सहकार्यमा हाललाई दुई ठाउँमा सो उपकरण जडान गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा दुर्घटना भइहालेमा उक्त उपकरणबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ ।

“कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो उपकरणमा रहेको हरियो बटन १० सेकेण्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा रहेको साइरन बज्नेछ भने तालिम केन्द्रमा रहेको ‘मोनिटर’मा घटना भएको स्थानसहित जानकारी हेर्न सकिन्छ”, सशस्त्रका सहप्रवक्ता थापाले भने ।

यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानकाबारेमा जानकारी हुनासाथ तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुनेछन् । सो उपकरणबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीयलाई प्रयोगको तरिका र अवस्थाबारे जानकारी गराएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी नारायणघाटबाट नागढुङ्गासम्मका स्थानीय तथा सो क्षेत्रमा विपत्मा परेका र घटना–दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमासमेत लुना जिपिएसको एस डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन् ।

“एसभित्र रहेको एसओएस बटनमा थिँचेपछि त्यसभित्र रहेको चारवटा एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाका विकल्पहरू देखिने छन्, त्यसमा कुन प्रकृतिको घटना हो, सोही विकल्पमा थिँचेपछि कसले कुन घटनाबारे जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालयमा जानकारी प्राप्त हुनेछ”, सहप्रवक्ता थापाले भने । उनका अनुसार सो एसलाई डाउनलोड गरी अफलाइनमार्फत समेत जानकारी गराउन सकिनेछ ।

नारायणघाटबाट नागढुङ्गासम्मको क्षेत्रमा मात्र प्रयोग गर्न सकिने उक्त मोबाइल एसले सो क्षेत्रमा हुने विपद्मा तत्काल उद्धारका लागि सहजताका साथै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट