काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसन प्रालिबीच डिजिटल साक्षरताका लागि समझदारी भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सोलुसन प्रालिबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धिका लागि पाँचवटा १०–दिने आईटी तालिम कार्यशालाहरू र तीन–महिने विस्तारित सिकाइ कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार तालिम कार्यक्रमहरूमार्फत नगरभित्रका युवाहरूलाई सूचना प्रविधिसँग जोडेर रोजगारीमुखी बनाउने र उनीहरूलाई आफ्नै नगरपालिकामै अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले युवाशक्ति नै भविष्यको आधार भएकाले आईटीसँग जोडेर युवालाई सक्षम बनाउँदै रोजगारीका अवसर सिर्जना गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताए । नगरपालिका युवामैत्री नीति तर्फ प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।
यस सहकार्यबाट नगर क्षेत्रभित्रका युवाहरूलाई व्यावहारिक सीप, डिजिटल दक्षता, र कार्यस्थलमा आवश्यक सामाजिक तथा प्राविधिक तयारीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस