२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

कामपा–२६ मा ‘डिजिटल ठेगाना प्रणाली’ शुभारम्भ

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ ।

कामपा–२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो ।

उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिने बताए ।

वडाध्यक्ष तिवारीले आज लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोड सहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बरप्लेट) जडान गरेका छन् । कामपा–२६ भित्र लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुशी, रानीबारी, नयाँबसपार्कलगायत क्षेत्रहरू पर्दछन् ।

महानगरले विगत दुई दशकदेखि मेट्रिक ठेगाना प्रणाली लागू गरेको भए पनि उक्त प्रणालीलाई रुपान्तरण गर्दै एनएफसी प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ सुरु गरेको हो । उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो ।

यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोर्ड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ । जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुने वडाध्यक्ष तिवारीले जानकारी दिए ।

फोहर सङ्कलनको जानकारी दिन, कुनै तथ्याङ्क सङ्कलन गर्न, स्थानीयस्तरबाट कुनै सूचना प्रवाह गर्नुपर्नेलगायत अत्यावश्यक कामका लागि शीघ्र र न्यून लागतमा काम गर्न सकिने वडा कार्यालयले जनाएको छ ।

कामपा–२६ का वडासचिव केदार रिमालले उक्त प्रणाली जडान गरेसँगै वडाभित्र विपद् व्यवस्थापन तथा राजस्व सङ्कलन प्रभावकारी गर्न सकिनुका साथै वडास्तरीय योजना तर्जुमा गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त प्रणाली काठमाडौँ महानगरपालिका–२६ भित्रका छ हजार ८५० घरधुरीमा जडान हुनेछ । यो प्रणाली जडान गर्न रु ४५ लाख लाग्ने वडासचिव रिमालले जानकारी दिए । घर थपिएसँगै उक्त प्रणाली क्रमशः जडान गरिँदै लगिने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट