राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र तथा उनको राजनीतिक उदयसँग प्रत्यक्ष रूपमा जोडिएको जिल्ला भएकाले रास्वपाले पहिलो महाधिवेशनका लागि चितवनलाई रोजेको हो। रास्वपाका केन्द्रीय सदस्य रमेश पौडेलका अनुसार चितवनले पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको सन्देश दिन पनि यही स्थान चयन गरिएको जानकारी दिए ।
किन रोजियो चितवन ?
रवि लामिछानेको राजनीतिक यात्रा र चितवनबीच विशेष सम्बन्ध रहेको रास्वपा नेताहरू बताउँछन् । सञ्चारकर्मी शालिकराम पुडासैनी प्रकरणपछि चितवनमै उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको थियो। अदालतबाट सफाइ पाएपछि उनका समर्थकहरू
देशभरबाट चितवनमा भेला भएका थिए। त्यसपछि लामिछानेले सञ्चार क्षेत्र छाडेर रास्वपा गठन गरी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । चितवनबाट तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले चितवनलाई आफ्नो राजनीतिक उदयको केन्द्रका रूपमा लिने गरेको उनका सहयोगी तथा रास्वपा नेता प्रमोद न्यौपाने बताउँछन्। ‘रविलाई चितवनले स्थापित ग¥यो, त्यसैले पार्टी स्थापना दिवसको अवसरमा पहिलो महाधिवेशन पनि यहीँ गरेर देशव्यापी सन्देश दिन खोजेका हौं,’ उनले भने ।
१९ पदाधिकारी र १५८ केन्द्रीय सदस्य
महाधिवेशनअघि रास्वपाले विधान संशोधन गर्दै पदाधिकारी तथा केन्द्रीय सदस्यको संरचनामा हेरफेर गरेको छ। संशोधित व्यवस्थाअनुसार महाधिवेशनबाट १९ पदाधिकारी र १५८ केन्द्रीय सदस्य चयन हुनेछन्। सातै प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ भने ३३ सदस्यीय सचिवालय पनि गठन गरिनेछ।
सभापतिमा रवि निर्विकल्प
महाधिवेशनमा सभापति पदमा रवि लामिछाने नै निर्विरोध चयन हुने लगभग निश्चित देखिएको छ। पार्टीभित्र उनलाई चुनौती दिने बलियो उम्मेदवार नदेखिएकाले सभापतिमा सर्वसम्मत चयनको सम्भावना बलियो रहेको नेताहरू बताउँछन् । त्यस्तै विधान संशोधनमार्फत वरिष्ठ नेताको व्यवस्था गरिएको छ। यो पदमा बालेन्द्र शाह (बालेन) सर्वसम्मत हुने चर्चा भए पनि औपचारिक निर्णय भने महाधिवेशन प्रक्रियामार्फत हुनेछ ।
महामन्त्रीमा कडा प्रतिस्पर्धा
रास्वपामा सभापतिपछिको सबैभन्दा प्रभावशाली कार्यकारी पद महामन्त्री मानिन्छ। हालका महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह पुनः सोही पदका प्रमुख दाबेदार छन् ।
यसबाहेक मनिष झा, प्रमोद न्यौपाने, विपीन आचार्य, हरि ढकाल र यज्ञमणि न्यौपाने पनि महामन्त्री पदका आकांक्षीका रूपमा हेरिएका छन् । पार्टी नेतृत्वले सम्भव भएसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहेको स्रोतहरूको दाबी छ ।
उपसभापतिमा स्वर्णिम अगाडि
तीन उपसभापति रहने व्यवस्थाअन्तर्गत वर्तमान उपसभापति स्वर्णिम वाग्ले पुनः चयन हुने सम्भावना बलियो देखिएको छ । अन्य आकांक्षीहरूमा समीक्षा बाँस्कोटा, लीमा अधिकारी, प्रतिभा रावल, सोविता गौतम, गणेश पराजुली, भरतमणि देवकोटा तथा इन्दिरा राणा लगायतका नाम चर्चामा छन्। महिला कोटाबाट सोविता गौतम र समीक्षा बाँस्कोटाको सम्भावना बलियो मानिएको छ ।
undefined
सह–महामन्त्रीमा पनि दौड
रास्वपाको विधानअनुसार चार सह–महामन्त्री रहने व्यवस्था छ, जसमा कम्तीमा एक महिला अनिवार्य हुने व्यवस्था रहेको छ । पुरुषतर्फ आशिम शाह, शिशिर खनाल, रमेश प्रसाईँ, रोहन कार्की, प्रकाशचन्द्र परियार, खगेन्द्र सुनार र सागर ढकालको नाम चर्चामा छ। महिलातर्फ टीका संग्रौला (ज्वाला), कुसुम महर्जन र क्रान्तिशिखा धिताल आकांक्षीका रूपमा देखिएका छन्।
निर्वाचन प्रक्रिया
रास्वपाको विधानअनुसार सभापतिमा प्रत्यक्ष उम्मेदवारी दिन सकिनेछ। तर अन्य पदाधिकारी बन्नका लागि पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छ ।
महामन्त्रीका आकांक्षी प्रमोद न्यौपानेका अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन प्रक्रिया अघि बढाइनेछ । पदाधिकारी चयनमा पनि प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस