काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रणा पठाइए पनि उनीहरूबाट को सहभागी हुने भन्ने विषयमा अहिलेसम्म निर्णय भएको छैन ।
रास्वपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई निमन्त्रणा पठाएको जनाएको छ । त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईलाई पनि निमन्त्रणा गरिएको रास्वपाको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

यद्यपि, निमन्त्रणा प्राप्त प्रमुख दलहरूले महाधिवेशनमा कसलाई प्रतिनिधिका रूपमा पठाउने भन्ने निर्णय गरिसकेका छैनन्।
नेपाली कांग्रेसका केन्द्रीय अनुशासन विभागका सचिव दिनेश थापा मगरले हालसम्म पार्टीले प्रतिनिधि चयनबारे निर्णय नगरेको बताए । ‘सायद बेलुकासम्म टुंगो लाग्ला,’ उनले भने ।
एमाले अध्यक्ष ओलीलाई पनि निमन्त्रणा गरिएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पार्टीका तर्फबाट को सहभागी हुने भन्ने निर्णय भइनसकेको जानकारी दिए। ‘अहिलेसम्म टुंगो लागेको छैन, पार्टीबाट कोही न कोही सहभागी हुनुहुन्छ ’ उनले भने । एमाले स्रोतका अनुसार अध्यक्ष ओली स्वयं भने महाधिवेशनमा सहभागी नहुने भएका छन् ।
माओवादी केन्द्रले पनि आफ्नो प्रतिनिधिको औपचारिक टुंगो लगाएको छैन। पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले बेलुकासम्म निर्णय सार्वजनिक हुन सक्ने बताए। ‘सह–संयोजक जानुहुन्छ कि अन्य कोही प्रतिनिधि, अहिले भन्न सकिने अवस्था छैन,’ उनले भने ।
प्रमुख तीन दलले प्रतिनिधि पठाउने तयारी गरे पनि उनीहरू पदाधिकारी तहका हुने वा केन्द्रीय सदस्य तहका हुने भन्ने विषयमा भने अझै निर्णय भएको छैन।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। पार्टीका अनुसार प्रतिनिधि पठाउने वा नपठाउने विषयमा पनि हालसम्म निर्णय भएको छैन।
रास्वपाले संसदमा प्रतिनिधित्व नगरे पनि राष्ट्रिय राजनीति र परिवर्तनको अभियानमा योगदान पुर्याएका केही व्यक्तित्वलाई पनि निमन्त्रणा गरेको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई समेत महाधिवेशनमा आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस